Thursday, March 21, 2019

आन्तरिक पर्यटकमा निर्भर सौराहा

प्रकाशित मिति: 2019/02/25

चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा  ‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, जनावर, पक्षी र थारु संस्कृतिमा अडिएको छ ।

हात्ती चढेर जङ्गल घुम्ने, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् ।

कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने सौराहामा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर छ ।

भूकम्पपछि सुस्ताएको सौराहाको पर्यटनलाई अहिले आन्तरिक पर्यटकले चहलपहल बढाएको क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ ।

आन्तरिक पर्यटक बढेर ४० प्रतिशत पुगेका छन् । उहाँले भन्नुभयो, “सन् २०२० सम्म ५० प्रतिशत पु¥याउने लक्ष्य राखेका छौं ।” सन् २०१७ सम्म ३० प्रतिशत रहेको अन्तरिक पर्यटकको आगमन दुई वर्षमा १० प्रतिशतले बढेको हो ।

अध्यक्ष घिमिरेले आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउन ध्यान दिनुपर्ने बताउनुभयो । “वाइल्डलाइफ पर्यटनमा अझै सोचेअनुसार बाह्य पर्यटक ल्याउन सकिएको छैन, यसका लागि हाम्रो पहुँच पनि कम छ”, उहाँले भन्नुभयो ।

निकुञ्ज घुम्नेमा विदेशी पर्यटक बढी भए पनि समग्रमा चितवन आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आउनु चिन्ताको विषय बनेको उहाँको भनाइ थियो ।

पूर्वाधार तथा हवाई सञ्जालको कमीले नेपालमा विदेशी पर्यटकको आगमनमा कमी हुन गएको बताइएको छ ।

भूकम्पसँगै नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणमा भएको कठिनाईले धरासयी यहाँको पर्यटन अहिले विदेशी भन्दा आन्तरिक पर्यटकले उकासेको व्यवसायीको अनुभव ।

सौराहा आउने अधिकांश पर्यटक स्वदेशी छन् । भारत, चीनसँगै सार्क राष्ट्रका केही पर्यटक मात्रै यहाँ आउने गरेका छन् ।

चितवन आउने विदेशी पर्यटकको रोजाइँमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । तर यहाँ आउने अधिकांश स्वदेशी पर्यटक सो निकुञ्ज कमै घुम्छन् ।

स्वदेशी पर्यटकको रोजाइमा नदीमा डुङ्गा चढ्ने, सामुदायिक वनमा हात्ती र जिप सफारी पर्ने गरेको छ ।

निकुञ्ज प्रवेशका लागि छुट्टै शुल्क लाग्ने र हात्ती सफारी नभएकाले निकुञ्ज घुम्ने नेपालीमा कमी आएको पर्यटन व्यवसायी दीपक भट्टराई बताउनुुहुन्छ ।

अर्का व्यवसायी दिपेश चौधरी पारिवारिक, शैक्षिक, सहकारी लगायतका सङ्घ संस्थाको भ्रमण र तालीम गोष्ठीले होटल व्यवसाय धानेको बताउनुहुन्छ ।

मौसम शुरु भएपछि बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान छ । आर्थिक वर्ष २०७५र७६ को पुस मसान्त सम्ममा ५९ हजार ७९ विदेशी, १० हजार ३३८ सार्क र १८ हजार ७३४ स्वदेशी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् ।

एक सिङ्गे गैँडा यहाँको प्रमुख आकर्षण हो । निकुञ्ज मात्रै देखाएर पर्यटकको बसाइँ लम्ब्याउन नसकिने भएपछि विभिन्न कार्यक्रम समेत आयोजना गर्दै आइरहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“वार्षिक योजना अनुसार नै आन्तरिक पर्यटकलाई लक्षित गरे विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं ।” सौराहामा नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, प्रणय दिवस लगायतका अवसर पारेर कार्यक्रम आयोजना गरिन्छ ।

एक सय दश होटल र ६० रेष्टुरेन्ट रहेको सौराहामा स्वदेशी पर्यटक मात्रै ५० प्रतिशत पुगेमा यहाँको पर्यटन व्यवसाय ढुक्कले चल्नसक्ने व्यवसायीको भनाइ छ । रासस

तपाईंको बिचार