Friday, November 15, 2019

तारुकाका गोरुधनी किसानहरुलाई सिधै पुरस्कार प्रदान गरियो

प्रकाशित मिति: 2019/02/27

फागुन १५, नुवाकोट । नुवाकोट तारकेश्वर गाउँपालिका तारुका वडा न. २ स्थीत चन्दनीमा माघेसंक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिताको पुरस्कार बितरण(नगद र ४२ थान मोवाईल) ४२ जना किसानले नेपाल पर्यटन बोर्डको बजेट रसुवा–नुवाकोट पर्यटन समाज मार्फत सोझै प्राप्त गरेका छन ।

किसानहरुले स्थानिय बृद्ध समाजसेवी झमबहादुर प्रधानलाई प्रमुख अतिथि र स्थानिय संस्थापन गोरुधनी किसान रेसमलाल श्रेष्ठलाई बिशेष अतिथि बनाई सम्मान सहितको पुरस्कार ग्रहण गरेका छन । सबै किसानहरुमा खुसियाली छाएको छ । 

गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटको तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका ५) स्थित चन्दनीमा विगतका वर्षहरु झैं यस वर्षपनि माघेसक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता आयोजना गरियो । तर त्यही गोरु जुधाइले प्रसिद्धि कमाएको भूगोलका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ भने जारी थियो ।

गोरु जुधाईपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रुप दिएको भन्दै स्थानीय अधिकांश गोरुधनिहरुले पुरस्कार बहिस्कार गरेका थिए । विजयी गोरुधनीलाई केही हजारमात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम भएकोमा किसानहरुले बिरोध गर्दै आएका थिए । पुरस्कारमा विवाद भएपछि सोहीबेला किसानको दुख पसिनाको सम्मान आयोजकले गर्न नसकेको भन्दै नुवाकोट–रसुवा पर्यटन समाजका महासचिव शिव अधिकारी (अविरल) ले पर्यटन बोर्डबाट आउने रकम अव सिधै किसानलाई दिइने बताएका थिए । बुधबार सोही बाचाअनुरुप आफुले रकम र ४२ थान मोवाईल सोझै किसानलाई बितरण गरेको महासचिव अधिकारीले बताए ।

नेपाल पर्यटन बोर्डबाट गोरुजुधाई प्रतियोगिताका लागि रु. दुई लाख गोरुधनीका लागि छुट्याईएको थियो, सोही रकम एक कार्यक्रमका बिच किसानहरुलाई सोझै प्रदान गरिएको हो । गोरु धनी किसानहरुको सम्मान स्वरुप गन्तव्य नेपालका अध्यक्षसमेत रहेका रसुवा–नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी (अविरल) ले आफ्नै लगानीमा गोरु जुधाई प्रतियोगितामा भाग लिने ४२ जना किसानलाई ४२ थान मोबाइल प्रदान गरेका छन् । रकमसहितको पुरस्कारबाट किसानहरु हर्सित भएका छन ।

 

तपाईंको बिचार