Monday, May 20, 2019

नुवाकोट कबिलासको ब्रम्हक्षेत्र धार्मिक पर्यटनको लागि उत्कृट गन्तव्य

प्रकाशित मिति: 2019/03/05

नुवाकोट २१ । धार्मिक पर्यटनका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गुरुकुल निर्माण हुने भएको छ ।

नुवाकोटको कबिलास पञ्चकन्या गाउँपालिका वडा न. २ मा निर्माण हुने यस गुरुकुलका माध्यमबाट लोप हुँदै गएको संस्कृत अध्ययनलाई थप परिष्कृत गर्दै बेद र मेडिटेसन सेन्टर निर्माण गरिने बताईएको छ ।
गुरुकुल निर्माणकै लागि भनेर एकहप्ता देखी धान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो जसको समापन आज हुँदैछ ।
पहिलो चरणमा १० वटा कोठा निर्माण गरिने उक्त गुरुकुल देशी बिदेशी नागरिकका लागि संस्कृत शिक्षाको आधार भुमि हुने धान्याञ्चल तथा गुरुकुलका अध्यक्ष केदार पाठकले बताए ।
बिश्वका १२ वटा ब्रम्हक्षेत्र मध्ये एक रहेको यो क्षेत्र समग्र हिन्दु धर्मको अध्ययन केन्द्र बन्न सक्ने स्थानिय अगुवा तथा नेपाली कांग्रेस महासमिती सदस्य रमेश महतले बताए । भारतमा साईबाबा, जगतगुरु लगायतको नाममा बिश्वभरीबाट भक्तजनहरु आउने गरेको सन्दर्भ उठाउँदै उनले नेपाल हिन्दु धर्मको हब बन्न सक्ने बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समिती सदस्य दिपक महतले यो धार्मिक पर्यटनको लागि प्रचुर संभावना बोकेको क्षेत्र भएका हुनाले यसलाई प्रर्वद्धन र बिकास गर्नका लागि आफुले गम्भिरताका साथ अगाडि बढाउने बताए । उनले काठमाण्डौबाट यति नजिक रहेको यति शान्त सुन्दर ब्रम्हक्षेत्र साच्चिनै सबैको लागि नमुना गन्तव्य बन्न सक्ने बताए ।
 नेपाल योग एसोसिएसनका अध्यक्ष मोहन लम्सालले मेडिटेसन तथा योगका लागि उत्कृष्ट गन्तव्य ब्रम्हक्षेत्रलाई बनाउन सकिने बताए ।
रसुवा नुवाकोट पर्यटन समाजका महासचिव तथा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष तथा समाजसेवी शिब अधिकारी ‘अबिरल’ले ब्रम्हक्षेत्र धार्मिक पर्यटनको लागि अत्यन्तै महत्वपुर्ण, पुरातात्विक र ईतिहास बोकेका भौगोलिक क्षेत्र हुनाका साथै योग साधाना गर्न चाहनेहरुका लागि उपयुक्त क्षेत्र भएकाले यसको उथ्थानमा पर्यटन बोर्ड र सरोकारवालाले ध्यान दिनुपर्ने बताए । कबिलास क्षेत्र भगवान शिबको अखण्ड भुमि, अलौकीक गुफा पर्यटकहरुका लागि आर्कषणको केन्द्रबिन्दु बन्दै आएको छ । जसअनुसार हरेक बर्षको शिबरात्रीमा यहाँ बिशेष मेला लाग्ने गर्दछ ।
 

तपाईंको बिचार