Tuesday, July 16, 2019

हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा करोडौंको पशुधनमा क्षति

प्रकाशित मिति: 2019/03/11

२७ फागुन, बेनी । हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा करोडौंको पशुधनमा क्षति पुगेको छ। आहारा खान नपाउँदा भोकाएर र हिउँले पुरिएर सयौंको संख्यामा भेडा च्याङग्रा र चौरीगाई मर्दा कृषकहरुलाई करोडौको नोक्सानी भएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङकाअनुसार लोमान्थाङ गाउँपालिका ४ चुम्जुङमा ४०० भेडा र २३० चौरीगाई मरेको अवस्थामा भेटिएका छन् ।

सहायक प्रजिअ विश्वेश्वर रेग्मीले लामाको नेतृत्वमा अहिंसाको कामना गरेर छाडा छाडिएका १२०० भेडामध्ये ४०० मरेको जानकारी आएपछि सीमा प्रशासन कार्यालय लोमान्थाङबाट प्रहरीको टोली आइतबार घटनास्थलतर्फ गएको छ ।

यसैगरी चुम्जुङमै कृषकहरुले पालेका २३० वटा साना ठूला चौरीगाई पनि मरेका सहायक प्रजिअ रेग्मीले बताए। भौगोलिक विकटता, सडक यातायात र सञ्चार सेवा अवरुद्ध भएका कारण क्षतिका बारेमा ढिलागरी सूचना आएको हो ।

‘हिउँ पर्न थालेदेखिनै पशुचौपाया मर्न थालेका हुन। मर्ने क्रम जारी भएको कृषकहरुले सूचना गरेका छन्’, सहायक प्रजिअ रेग्मीले भने ‘जिल्लाको अन्य ठाउँमा पनि भेडा च्याङग्रा र चौरीगाई मरेको सूचना आएकाले क्षति विवरण संकलनका लागि प्रहरी टोली परिचालन गरिएको छ ।’

मुस्ताङसमेत कार्यक्षेत्र भएको भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवन आचार्यले छोन्हुपमा पनि ५०र६० वटा चौरी गाई मरेको स्थानीय तहका पशु सेवा प्राविधिकमार्फत सूचना आएको बताए ।

घमी, समर, किमखर्क, नमखु, मार्फा, धौलागिरी आधार शिविरका लेक र खर्कका गोठमा पनि भेडाच्याङग्रा र चौरीगाई मरेका कृषकहरुले बताएपनि आधिकारिक विवरण र तथ्याङक संकलन हुन सकेको छैन्। बाक्लो हिउँ जमेकाले हिडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले बस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताए। ‘वस्तुभाउ मर्ने क्रम जारी छ। माघ दोस्रो हप्तादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर परेको हिउँ अझै पग्लिएको छैन्’, गुरुङले भने ‘घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो संख्यामा व्यवसायिक रुपमा पालिएका भेडा च्याङग्रा र चौरीगाई खान नपाएर भोक भोकै मरेका छन् ।’

अर्का कृषक वाङ्दी गुरुङले गोठनै मासिने गरेर क्षति भएको दुखेसो पोखे। ‘आम्दानीको स्रोत नै हिउँले खोस्यो’, वाङदीले भने ‘दसैं, तिहारका लागि बिक्रीका लागि पालेका सयभन्दा बढी भेडाच्याङग्रा खर्कमै मरेका छन् ।’

सडकमा हिउँ जमेकाले यातायात सम्पर्क विच्छेद भएको उपल्लो मुस्ताङमा नेपाली सेनाले सडक खुलाउन सुरु गरेको छ। आइतबार चराङसम्म हिउँ पन्छाएर ट्याक खोलेर ट्याक्टर चल्न सक्ने बाटो बनाइएको छ ।

जिल्ला समन्वय समिति, स्थानीय तह र वडाका जनप्रतिनिधी तथा सुरक्षा निकायले हिउँले अवरुद्ध सडक खुलाउन र पशुधनको क्षति विवरण संकलन सुरु गरेका छन् ।

मुस्ताङका सांसदहरुले प्रतिनिधि र गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा हिमपातका कारण कष्टकर बनेको जनजिवनलाई सहज बनाउन तथा क्षति व्यहोरेको कृषकहरुलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले हिमपातले पुर्‍याएको क्षतिको बारेमा जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद्वय तुलाचन र बिष्टले स्थानीय तह र सुरक्षा निकायमार्फत क्षति विवरण संकलन गरेर राहतका लागि सम्बन्धित मन्त्रालयमा पहल गरिएको बताए ।

तपाईंको बिचार