Thursday, August 22, 2019

एसियन अरब बिजनेस अवार्डबाट बिक्रम पाँडे सम्मानित

प्रकाशित मिति: 2019/04/08

पर्यटन व्यवसायी बिक्रम पाँडे ’एसियन अरब च्याम्बर अफ कमर्स बिजनेस अवार्ड २०१९’ बाट सम्मानित भएकाछन ।

यहि मार्च ३० मा भारतको हैदराबादमा आयोजित एक कार्यक्रमबीच च्याम्बरका अध्यक्ष एस कृष्ण कुमारले पाँडेकाजीलाई अवार्ड र प्रशंसापत्र सहित सम्मान गरेका हुन ।

 पर्यटन क्षेत्रको माध्यमबाट नौला पर्यटकीय गतिबिधि सृजना गरि स्थानीयवासीहरुमा आफ्नो सांस्कृतिक धरोहर, सम्पदा र वातावरण संरक्षण सम्बर्धनको  जनचेतना ल्याई आयआर्जनको अवसर सृजना गर्न गरिएका नविन प्रयासहरुको लागि पाँडेकाजीलाइ सम्मानित गरिएको हो ।

पाँडेकाजी विश्वमै चर्चा बटुल्दै गएको तेन्जिंग (हिलारी माउन्ट एभरेष्ट म्याराथनका सर्जक हुन । उक्त म्याराथनले सगरमाथा क्षेत्रमा स्प्रिंग पदयात्रा सिजनलाइ कम्तिमा  एक महिना तन्काएको स्थानीयहरुको बिश्वास छ । पाँडेकाजीले विश्वमै पहिलो पल्ट सगरमाथालाइ ’क्लाइम्ब एभरेष्ट, क्लिन एभरेष्ट र रन एभरेष्ट’ गरी तीन क्षेत्रमा रिब्र्यांडिंग गरी साहसिक पर्यटन, वातावरण संरक्षण तथा साहसिक दौड  जस्ता नौलो पर्यटन कार्यक्रम बिश्वलाइ दिए ।

त्यसैगरि पाँडेकाजी लुम्बिनीमा आयोजना गरिने ’लुम्बिनी पिस म्याराथन’ का पनि सर्जक हुन् । विश्वकै पहिलो र एकमात्र यस आध्यात्मिक म्याराथनले लुम्बिनी कपिलवस्तु क्षेत्रमा ओझेलमा रहेका बुद्धकालिन सम्पदाहरुलाई प्रचारमा ल्याई स्थानीयहरुलाई पर्यटन मार्फत आयआर्जनको अवसर दिने लक्ष्य राखेको छ । 

सम्मान समारोह अघि आयोजना गरेको राउण्ड टेबलमा बोल्दै पाँडेकाजीले अरब एसिया क्षेत्रका व्यवसायीहरुलाई नेपालमा पनि लगानी गर्न आग्रह गरे । “मेरो देशले बिदेशी लगानी भित्र्याउन ’नेपाल लगानी सम्मेलन २०१९’ आयोजना गर्दैगर्दा म यस मंचको उपयोग गर्दै यहाँ उपस्थित सबैलाई नेपालमा लगानी गर्न आग्रह गर्दछु, नेपाल भ्रमण गरि व्यापार व्यवसाय गर्ने प्रकृया सरल गर्न राज्यले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरु बुझ्नुहोस, हेर्नुहोस र लगानी बारे निर्णय गर्नुहोस ।’ उनले भने ।

’एसियन अरब च्याम्बर अफ कमर्स बिजनेस अवार्ड’ च्याम्बरको वार्षिक कार्यक्रम हो ।  कार्यक्रममा अरब एसिया क्षेत्रका प्रसिद्ध उद्योगि तथा लगानीकर्ता लगायत भारतका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता  रहेको थियो ।

 

तपाईंको बिचार