Wednesday, June 26, 2019

नागरिक उड्डयन प्राधिरणले बिमानस्थल महाप्रबन्धक क्षेत्रीलाई सोध्यो स्पष्टीकरण

प्रकाशित मिति: 2019/04/11

 काठमाडौं । नियम उल्लघंन गरी उडान अनुमति दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले नेपाल वायु निगम र फ्लाइ दुबईसँग किन फरक फरक व्यवहार भयो भनी क्षेत्रीसँग प्रष्टीकरण मागेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले क्षेत्रीसँग स्पष्टीकरण सोधिएको पुष्टि गरे ।
उनका अनुसार बुधबार कार्यालय समयभित्रै नेपाल नागरिक उड्ययन प्राधिकरणमार्फत पत्र पठाइएको छ । 

मंगलबार राति विमानस्थल बन्द भएको १७ मिनेटपछि पनि फ्लाई दुबईलाई उडान अनुमति दिईएको घटना सार्वजनिक भएको थियो ।

जबकी एक साता अगाडि विमानस्थल प्रशासनले यही नियम देखाएर जम्मा ४ मिनेट ढिला भएको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३१ को दुबई उडान रोकेको थियो । २७४ जना यात्रुसहित दुबई उड्न लागेको नेपाल एयरलाइन्सको ए ३३०,२२० वाइडबडी विमानलाई विमानस्थल प्रशासनले रोकेको समाचार बाहिर आएपछि चौतर्फी बिरोध भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम चलिरहेकाले हाल राति १० बजेपछि उडान अवतरण बन्द गर्ने गरिएको छ । नोटाम लागू भएको अवस्थामा विमानस्थलमा उडान अवतरण गर्न पाईंदैन ।
उस्तै घटनामा विमानस्थल प्रशासनले फ्लाइ दुबईलाई उडान अनुमति दिएपछि यो विषय मन्त्रालयसम्म पुगेको छ ।
अब क्षेत्रीको जवाफअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्रालयका प्रवक्ता उपाध्यायले बताए । विमानस्थलले भने नेपाल एयरलाइन्स रोकिएको घटनाका कारण यात्रु अलपत्र परेकाले त्यस्तो अवस्था नआओस् भनेर उड्न दिइएको दाबी गरेको छ ।

तपाईंको बिचार