Saturday, November 23, 2019

बर्ष २०१९ भित्रै सगरमाथाको उचाई नापिसक्ने

प्रकाशित मिति: 2019/04/17

४ वैशाख, सोलुखुम्बु । सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।

पहिलोपटक नेपाल आफैंले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्दैछ । यसका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिए ।
टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै लबुचे पुग्नेछन् ।
उनीहरुसँगै नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ ।
टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन् । २०१९ मा सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।

तपाईंको बिचार