Friday, September 20, 2019

आन्तरीक मेलाको अन्तिम दिन, स्वतःस्फुर्त अवलोकनकर्ता उर्लिए, २ लाख सहभागि हुने दाबी

प्रकाशित मिति: 2019/04/27

बैशाख १४, काठमाण्डौ । आन्तरीक पर्यटन मेलाको दोस्रो तथा अन्तिम दिन आज पनि भृकुटीमण्डपमा अवलोकनकर्ताको भिड बढेको छ । 

गन्तव्य नेपाल ग्रुप अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेलामा पर्यटन सम्बद्ध होटल, रेष्टुरा, ट्राभल टुरिजम, बिभिन्न पर्यटकीय संघसंस्था, हस्तकला, नेपालका मौलिक संस्कृति रहनसहनका बिभिन्न स्टलहरुले भृकुटीमण्डप सजिएको छ ।  
हिजोदेखी आज मध्यान्ह १२ बजेसम्ममा एकलाख ८० हजारबढिले मेला अवलोकन गरिसकेको आयोजकले दाबी गरेको छ । बेलुकीसम्ममा २ लाख अवलोकन कर्ता सहजै पुग्ने उसको दाबी छ ।
मेलामा बिभिन्न पर्यटकीय क्षेत्र र सेवाबारे जानकारी दिन स्टलकर्ताहरु लागिपरेका छन । देश चिनाउने अभियान भएकाले सबैलाई सहभागि गराउन प्रवेश निशुल्क गरिएको छ । मेलामा ७७ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा संस्कृतिबारे अवलोकन गर्न सकिने छ ।
पहिले देश अनि बिदेश भन्ने मुल नाराका साथ निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको मेलामा पर्यटन सम्बद्ध ११२ वटा स्टल रहेको रहेका छन ।
गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले सरकारको मिसन २०२० लाई सफल बनाउनका लागि आफु लागिपरेको भन्दै अवलोकनकर्ताहरु स्वतः स्फुर्त रुपमा मेलामा सहभागी भएकाले देश चिनाउने आफुहरुको अभियान सफल भएको बताए ।
ईभेन्ट म्यानेजमेन्टका संयोजक माधबप्रकाश सुबेदीले निश्वार्थ रुपमा पर्यटकीय क्षेत्र र संस्कृतिको जानकारी दिने आफुहरुको अभियानमा सबै बर्ग र समुदायको साथ सहयोग रहेको भन्दै मेला सफलता उन्मुख भएको बताए ।

तपाईंको बिचार