Tuesday, May 21, 2019

राफ्टिङ क्षेत्रमा नयाँ गन्तव्य, सुपर त्रिशुली र्याफटिङ जेठ ७ मा

प्रकाशित मिति: 2019/05/09

२६ बैशाख,काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजले त्रिशुली नदीमा सुपर त्रिशुली र्याफ्टिङ आयोजना गर्ने भएको छ ।
यही जेठ ७ गते पर्यटन सम्बद्ध सबै संघसंस्था तथा शुभेच्छुकहरुको सहभागिता रहने यस बृहत र्याफ्टिङ कार्यक्रममा सहभागिताका लागि ईभेन्ट संयोजक शिब लामिछानेले सबैमा आह्वान गरे ।
उत्तरगया गाँउपालिका रसुवा र बिदुर नगरपालिका ७ र १० नम्बर वडामा पर्ने त्रिशुली नदी क्षेत्रमा र्याफ्टिङको आयोजना हुँदैछ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन आन्तरीक पर्यटन क्षेत्रको प्रमुख जलयात्रा क्षेत्रको प्रचार र प्रवद्र्धन  तथा नयाँ गन्तव्यलाई स्थापित गर्न उत्तरगया र बिदुर रोजिएको संयोजक लामिछानेले बताए ।
पर्यटन क्षेत्रको सबै संघसंस्थाको समन्वय गरी पर्यटन बजारलाई चलायमान बनाउन तथा लुकेर रहेका क्षेत्रहरुलाई उजागर गर्न साहसिक जलयात्रा कार्यक्रम फलदायी हुने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।
कार्यक्रमको प्रमुख सहयोगी पार्टनरको रुपमा उत्तरगया गाउँपालिका रहेको छ । यस कार्यक्रमले उत्तरगया गाउँपालिकामा पर्यटकीय गतिबिधी बृद्धि हुने अपेक्षा गाँउपालिका प्रमुख उपेन्द्र लम्सालले बताए ।
उपप्रमुख चमेली गुरुङले त्रिशुली नदिको प्राकृतिक सौन्दर्य र नदीको बहुआयामिक उपयोगमा कार्यक्रम फलदायी हुने बताईन ।
कार्यक्रमलाई हरतरहले सहयोग गर्ने आतुर रहेको बिदुर नगरपालिका वडा ७ का वडा अध्यक्ष महेन्द्र तामाङले बताए ।
कार्यक्रम तालिकाअनुसार उत्तरगया गाँउपालिकाको खाल्टेमा उद्घाटन भएर भैसेमा समापन हुने जनाईएको छ । जेठ ७ गते मंगलबार बिहान ११ बजे र्याफ्टिङको औपचारिक कार्यक्रमका साथ उद्घाटन भएर २ बजे समापन हुने आयोजकले जनाएको छ ।
र्याफ्टिङ गन्तव्य काठमाण्डौबाट ८० किलोमिटरको दुरीमा छ ।  ३ घण्टाको बसयात्राबाट गन्तव्यमा पुग्न सकिन्छ । सहभागिलाई जेठ ७ गते मंगलबार सोह्खुट्टेमा बिहान ६ः ३० बजे उपस्थीत हुन समेत जानकारी गराईएको छ ।

तपाईंको बिचार