Thursday, June 20, 2019

दोस्रो अन्नपूर्ण म्याराथन भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2019/06/03

जेठ २०, काठमाण्डौ । टुरिजम फर अल सिजन भन्ने मुल नाराका साथ दोस्रो अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ ।
आज बिहान ६ बजेर १५ मिनेटमा ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरुवात भएर माछापुच्छ्रे आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा पुगेर समापन भएको हो ।
आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा सहआयोजक अन्नपूर्ण काठमाण्डौ समाजले संयुक्त रुपमा आयोजना गरेको म्याराथन प्रतियोगितामा  डोटीका जर्सी नम्बर ३३ का खगेन्द्र बहादुर भाट प्रथम भए । त्यस्तै जर्सी नं ६ का हरी रिमाल दोस्रो, जर्सी नं ११ का गोपाल तामाङ तेस्रो र  जर्सी नं ३८ का सचिन गुरुङ चौथो भए ।
विजेताले १ लाख ५ हजार पुरस्कार रुपैयाँ प्राप्त गरे भने क्रमशः दोस्रो हुनेले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ११ हजार, पाँचौंले १० हजार, छैटौंले ९ हजार र सातौंले ८ हजार, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार रुपैयाँ प्राप्त गरे । बिजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले नगद, सिल्ड कप तथा प्रमाणपत्रबाट सम्मान गरेका थिए ।
उक्त कार्यक्रमको समापन मन्त्री बिश्वकर्माले म्याराथन पर्यटन प्रवद्र्धन गर्नका लागि महत्वपूर्ण रहेको भन्दै खेलकुद क्षेत्रको बिकासमा मन्त्रालयले गर्नुपर्ने काम सशक्त ढंगले निर्वाह गर्ने बताए ।
सहआयोजक संस्थाका कोषाध्यक्ष तथा म्याराथन संयोजक ऋषिराम भण्डारीले स्थानिय स्तरमा पर्यटन बिकास गर्न म्याराथन आयोजना गरिएको बताउँदै बिदेशीहरुको समेत सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पर्यटन प्रवद्र्धन भएको बताए । उनले आगामी दिनमा घान्दु्रकका स्थानियको समेत सहभागितामा अझ बृहत कार्यक्रम आयोजना गरिने समेत बताए ।  
खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देबकोटाको समेत सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट सिनियर निर्देशक हिक्मतसिंह एैर, टानका महासचिव आङतेम्बा शेर्पा, एनएमएका कार्यसमिती सदस्य कपिल पाण्डे,  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी अबिरल, डिटिएम संयोजक माधब सुबेदी लगायतको टोली काठमाण्डौबाट सहभागि भएका थिए ।
अन्नपूर्ण घान्दु्रक क्षेत्रका बिभिन्न झाँकी प्रश्तुत गरिएको कार्यक्रममा ५६ जना देशी बिदेशी धावकसहित हजारौ सहभागि भएको आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार