Monday, October 14, 2019

श्रृजनशिल महिलाहरुको स्वावलम्बनको बाटो :हाँडीगाँउ सामुदायिक घरबास कार्यक्रम

प्रकाशित मिति: 2019/06/11

जेठ २८, काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी गहनापोखरी, हाँडीगाँउ टंगालका स्थानिय महिलाहरुले ‘हाँडीगाँउ सामुदायिक घरबास’ कार्यक्रम सुरु गरेका छन ।

सरकार आर्थिक समृद्धिको बहशमा मात्रै सिमित भईरहँदा हाँडीगाँका महिलाले सुरु गरेको घरबास कार्यक्रम आत्मसम्मान सहितको स्वरोजगार भएको हाँडीगाँउ घरबास कार्यक्रमकी अध्यक्ष शकुन्तला घिमिरेले बताईन ।
पूर्ण प्राकृतिक बाताबरण, स्थानिय सामाजिक रितितिथी, खानपान र चालचलन सहितको होमस्टे नेपाली संस्कृति बुझ्न चाहने बिदेशी पर्यटकहरु समेतलाई लाभन्वीत हुने गरी तयार गरिएको छ । ‘श्रीमानको पेसामा साथ सहयोग गर्दै घर व्यावहार चलाउँदै आएका महिलाहरु आफुले पनि केही गर्न सक्छन, सक्नुपर्छ भन्ने सधै लागिरहन्थ्यो, घिमिरेले भनिन,‘ महिला हुनुको आत्मसम्मान र आर्थिक सुरक्षा खोज्दै जाँदा होमस्टे उपयुक्त छ भन्ने लागेरै सुरुवात गर्यौ, सुरुमा बुझाउन गाह्रो भएपनि अहिले सबै दिदीबहिनीले साथ दिनु भएको छ, खुसी लागेको छ, अब केही पक्कै हुन्छ ।’
घरबास कार्यक्रममा १२ घरधुरीका १२ जना महिलाहरु जोडिएका छन । होमस्टे सञ्चालनका लागि कुनै नयाँ संरचनाहरु बनाईएको पनि होईन, आफै बसोबास गर्दै आएका घरका एक कोठालाई सजाएर बिशुद्ध गाँउले परिवेश तयार गरी स्थानिय खानपान, संस्कृति बिदेशीहरुमाझ प्रवद्र्धन गर्दै मुद्रा आर्जनको स्रोत बनाएका हुन ।
नेपालका ७७ जिल्ला मध्येबाट आफुलाई उपयुक्त लागेको जिल्लाको नाममा होमस्टेको नामाकरण गरिएको छ, सिन्धुपाल्चोक नामको होमस्टेमा पर्यटक आउँदा रसुवा नामको अर्को घरको होमस्टेले समेत सहयोग गर्नेगरी अगाडि बढेका उनीहरु बताउँछन ।
गन्तव्य नेपालको कार्यालयमा होमस्टे प्रवद्र्धनका लागि भन्दै भेटिएका अध्यक्षसहितका अन्य सदस्यहरुको एउटै लक्ष्य छ, स्वरोजगारसहितको स्थानिय संस्कृतिको प्रवद्र्धन । यसमा उनीहरु सबैको सक्रियता गज्बबको छ, सबै ठाँउमा सबै जना सँगै जान्छन, प्रवद्र्धन कार्यक्रम गर्नकै लागि उनीहरु लागिपरेका छन ।
जेठ ३१ गते समुन्द्रमन बिद्यापिठ गहनापोखरीमा उनीहरुले सञ्चालन गर्ने घरबास कार्यक्रमको काठमाण्डौ महानगरका मेयर बिद्यासुन्दर शाक्यबाट औपचारिक उद्घाटन हुँदै छ । महानगरले केही शुभेच्छा समेत देखाएको छ । होमस्टे एसोसिएसनमा दर्ता तथा कानुनी रुपमा जेजति गर्नुपर्ने हो ती सबै पुरा  गरिएको छ । उनीहरु भन्छन, त्यो भन्दा बढि हाम्रो भरोसा आफैमाथि छ ।
स्थानिय उत्पादन, संस्कृति, खानपानको प्रवद्र्धनसहितको स्वरोजगारलाई घरबास कार्यक्रममार्फत अन्य क्षेत्रमा समेत बिस्तार गर्दै लैजाने उनीहरुले बताए । हाल अध्यक्ष शकुन्तला घिमिरे, उपाध्यक्ष कल्पना खतिवडा, सचिव हुमला देबी शर्मा, सल्लाहकार करुणा स्वार तथा कार्यसमिती सदस्यहरुमा श्रुति गुरागाँई, भवानी सुबेदी, उर्मिला खनाल, रुपा प्रजापति, अनिता ढुंगेल, पुष्पाञ्जली डंगोल, मञ्जुकुमारी सेढाई र बसन्ती शाही सहित १२ घर सदस्यबाट सुरु भएको कार्यक्रम अन्यत्र पनि बिस्तार गरिने उनीहरुको योजना छ ।

तपाईंको बिचार