Thursday, July 18, 2019

पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा भारतीय विमान कम्पनीलाई ५४८ करोड भारुभन्दा बढी घाटा

प्रकाशित मिति: 2019/07/05

असार २०, नयाँ दिल्ली । बालाकोटमा भारतीय वायुसेनाले हवाई हमला गरेपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

मोदी सरकारले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै पाकिस्तानको यो निर्णय कारण भारतीय विमान कम्पनीहरुले ५४८ करोड भारतीय रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपरेको जानकारी दिएको छ ।

यता, पाकिस्तानले यो प्रतिबन्ध १२ जुलाईसम्म बढाउने फैसला गरेको छ ।

जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारतले मसूद अजहरको संगठन जैश–ए–मोहम्मदको कथित क्याम्पहरुमा हवाई हमला गरेको थियो ।

भारतले हवाई हमला गरेपछि दुई देशबीच तनाव पैदा भएको थियो र पाकिस्तानले भारतका लागि आफ्नो हवाई क्षेत्रमा पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । गत अप्रिल ११ मा भने एउटा मात्र पश्चिमी मार्ग खुला गरेको थियो ।

एयर इन्डियालाई मात्र ४९१ करोड भारु घाटा ः मन्त्री

नागरिक उड्डयन राज्यमन्त्री (स्वतन्त्र प्रभार) हरदीप सिंह पुरीले राज्यसभालाई दिएको जानकारी अनुसार एयर इन्डियालाई ४९१ करोड भारु, ३१ मेसम्म इन्डिगोलाई २५.१ करोड भारु र २० जूनसम्म स्पाइस जेटलाई ३०.७३ करोड भारु र गो एयरलाई २.१ करोड भारतीय रुपैयाँ घाटा भएको छ ।

एयर इन्डियाका अधिकारीका अनुसार पाकिस्तानको प्रतिबन्धका कारण विमानकम्पनीलाई दैनिकरुपमा ६ करोड भारु घाटा भइरहेको छ ।

पाकिस्तानको निर्णयपछि भारतीय एयरलाइन्सहरुले बाध्यताबस घाटाको व्यापार गरिरहनुपरेको छ । हवाई क्षेत्रमा प्रतिबन्धनबाट युरोप र दक्षिण–पूर्व एशिया जाने उडान प्रभावित भएको छ । पाकिस्तानको हवाई क्षेत्रबाट हरेक दिन सयौँ विमानहरु उडान भर्ने गरेका थिए ।

पछिल्लो पटक प्रधानमन्त्री नरेन्द्र मोदीले शंघाई समिटमा किर्गिस्तान जानका लागि ओमान र इरानको मार्ग प्रयोग गरेका थिए ।

यद्यपि, पाकिस्तानले उनको विशेष विमानलाई किर्गिस्तान आउन–जानका लागि ४८ घण्टा हवाई क्षेत्र खुला गरेको थियो । एजेन्सी

तपाईंको बिचार