Wednesday, August 21, 2019

युरोपेली आयोगको पहिलो महिला अध्यक्षमा उर्सुला लियेन

प्रकाशित मिति: 2019/07/18

साउन २, स्ट्रासबर्ग । जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन्। आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा लियेन झिनो बहुमतका आधारमा निर्वाचित भएको बताइएको छ।

यससँगै ६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छिन्। युरोपेली संघमा आवद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाइ समर्थन गरेका थिए ।

कूल ७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गरिन्। उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने बताइएको छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ। हाल युरोपेली आयोगको अध्यक्षमा जाँ क्लाउड जन्कर रहेका छन्।

विजय भएपछि उनले बेलायतको बहिर्गमन पश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरु रहेको भन्दै आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको भन्दै अब युरोपलाई एकीकृत र बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताइन्।

ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्य मान्यता र कानुनमाथिको चुनौतीलाई उनले सम्बोधन गर्नुपर्नेछ। एएफपी

तपाईंको बिचार