Wednesday, August 21, 2019

नाइजेरियामा अन्धाधुन्द गोली चल्दा ६५ जनाको मृत्यु

प्रकाशित मिति: 2019/07/29

साउन १३, नाइजेरिया। नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोमा बोको हरामका सैन्य फौजले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि ६५ जनाको मृत्यु भएको छ ।  प्रत्यक्षदर्शीका अनुसार उक्त राज्यको मुख्य सहर मैडुगुरीमा मोटरसाइकल तथा भ्यानमा आएका बन्दुकधारीले आफन्तको अन्तिम संस्कारमा सहभागीमाथि अन्धाधुन्द गोली चलाउँदा ६५ जनाको मृत्यु भएको हो । 

केहीको आक्रमणकारीलाई पछ्याउने क्रममा मृत्यु भएको हो भने केहीको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । पछिल्लो समय उक्त क्षेत्रमा इस्लामिक आक्रमण बढेको छ । स्थानीय सरकारी अधिकारी मुहम्मेद बुलामाले दुई साताअघि गाउँलेले ११ जना बोको हराम विद्रोहीमाथि ज्यान जाने हमला गरेको बदलामा उक्त आक्रमण गरेको हुनसक्न‍े बताएका छन् । 

घटनास्थल पुगेका एएफपीका संवाददाताका अनुसार घरहरु जलिरहेका थिए भने आफन्तले मृतकको शव उठाउँदै थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त हमलाको निन्दा गरेका छन् । राष्ट्रपतिले हवाई सैनिकलाई उक्त हमलाकारीलाई तत्काल पत्ता लगाउन निर्देशन दिएको रोयटर्समा उल्लेख गरिएको छ । 

उक्त क्षेत्रमा द्व‍न्द्वको एक दशकको अवधिमा दश हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको र २० लाख मानिसहरु भागेको बताइएको छ । बीबीसी
 

तपाईंको बिचार