Wednesday, October 23, 2019

उत्तर कोरियाले फेरि हान्यो दुई क्षेप्यास्त्र

प्रकाशित मिति: 2019/08/10

उत्तर कोरियाले फेरि समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। शनिवार छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो सहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो ।

अमेरिकी र दक्षिण कोरियाली सेनाको संयुक्त सैन्य अभ्यासबारे उत्तरकोरियाली राष्ट्रपति किम असन्तुष्ट रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले समेत बताएका छन् । छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुने मानिन्छ ।

दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार प्रक्षेपण गरिएका क्षेप्यास्त्र झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ४०० किलोमिटर पर पुगेका थिए । ती क्षेप्यास्त्र कोरियाली प्रायद्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसेको बताइएको छ ।

तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो । गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निशस्त्रीकरणबारे पुन वार्ता थाल्ने सहमति गरेपछि पनि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ ।

भोली (अगस्ट ११) बाट अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास हुने भनिए पनि त्यसको तयारी भने अति सामान्य थालिएको बताइएको छ । ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले कोरियाली नेताले आफुलाई ३ पन्ना लामो सुन्दर पत्र पठाएको र त्यो पत्र अनुसार आफुहरु फेरि भेट्न सक्ने बताएका छन् । एजेन्सी

तपाईंको बिचार