Thursday, November 21, 2019

हङकङको विवादित सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता

प्रकाशित मिति: 2019/10/23

६ कार्तिक, हङकङ । हङकङको संसदले औपचारिक रुपमा विवादित सुपुर्दगी विधेयक फिर्ता लिएको छ । उक्त विधेयककै कारण पाँच महिनादेखि हङकङमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ । 

उक्त विधेयकअनुसार कुनै पनि फौजदारी मुद्दाका अभियुक्तलाई चीन पठाउनुपर्ने प्रावधान थियो । अप्रिलमा उक्त विधेयक संसदमा पेस गरेसँगै त्यसको विरुद्धमा आन्दोलनहरु सुरु भएका थिए । 

उक्त विधेयकको विरोधमा सयौं हजार मानिसहरु सडकमा उर्लिएका थिए । आन्दोलन चर्किँदै गएपछि हङकङकी नेतृ क्यारी लामले उक्त विधेयक फिर्ताको घोषणा गरेकी थिइन् । 
 
विधेयक फिर्ताको घोषणा गरेपनि आन्दोलनकारीहरुले भने प्रदर्शन जारी राखेका छन् । अहिले उनीहरुले प्रजातन्त्रिक समर्थन अभियान थालिएको छ । अहिले स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै आन्दोलन थालिएको छ । 

सन् १९९७ मा बेलायतबाट हङकङ स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो राजनीतिक संकट भएको बताइएको छ । हङकङको पाँच महिना लामो आन्दोलनले चीनमा समेत गम्भीर चुनौती सिर्जना गरेको छ । चीनले प्रदर्शनकारीहरुलाई खतरानाक पृथकतावादीको संज्ञा दिँदै विदेशी शक्तिले उनीहरुलाई उकासिरहेको आरोप लगाएको छ । 

उक्त विधेयकको औपचारिक फिर्ताले प्रदर्शनकारीका पाँच मागमध्ये एक माग सम्बोधन गरेको बताइएको छ । प्रदर्शनकारीहरुले प्रदर्शनलाई दंगाको रुपमा हेर्न नहुने, नियन्त्रणमा लिइएका प्रदर्शनकारीहरुलाई आममाफी दिनुपर्ने, प्रदर्शनका क्रममा प्रहरीको ज्यादतीको अनुसन्धानका लागि निष्पक्ष छानबिन टोली गठन गर्नुपर्ने र सर्वव्यापी समस्याको समाधान गरिनुपर्ने चारवटा माग भने यथावत छन् । बीबीसी

तपाईंको बिचार