Saturday, September 23, 2017

भारतीय सीमामा बंकर निमार्ण गर्दै पाकिस्तानः भारतको आपत्ति

प्रकाशित मिति: 2016/04/25

वैशाख १३, काठमाडौं । पाकिस्तानले भारतको पश्चिी राज्य राजस्थानको सीमामा एक महिनायता करिब १८० वटा पक्की बंकर बनाएपछि भारतले आपत्ति जनाएको छ । भारतीय सीमा सुरक्षा बलका अधिकारीले भारत र पाकिस्तानबीच भएको द्विपक्षीय बैठकमा यस कदमप्रति भारतीय अधिकारीले आपत्ति प्रकट गरेका हुन् ।
 
पाकिस्तानले भारतको राजस्थानसँग सिमा जोडिएका जैसलमेर, बिकानेर, बाडमेर र श्रीगंगानगर नजिकै  बंकर निमार्ण गरेको हो । पाकिस्तानले राजस्थानको सीमामा अझै थप एक सय पक्की बंकर बनाउन थालेको भारतको दाबी छ।
 पाकिस्तान र राजस्थान सीमामा पाकिस्तानले बंकरसँगै एम्युसन डम्प, हेलीप्याड, पक्की सडक, पानीको ट्यांकी सीमा चौकी र अन्य कयौं पूर्वाधार निर्माण तीव्र पारेको हो। सिमानामा पाकिस्तानले बनाएका सबै बंकर पक्की रहेका छन्। यी बंकरलाई ‘डेजर्ट वार फेयर प्रविधि’ प्रयोग गरी बनाइएको हो। 
 
पाकिस्तानले युद्ध पूर्वाधार बनाएको यो क्षेत्रमा सन् १९७१ मा भारत र पाकिस्तानबीच युद्ध भएको थियो।भारतीय सीमा सुरक्षा बल (बिएसएफ) पूर्व डिआइजी भगवतीलाल चौहानले पाकिस्तानले ती बंकर सीमामा उपस्थित चिनियाँ सैनिकको सहयोगमा निर्माण गरिरहेको दाबी गरेका छन्।उनका अनुसार भारतीय सीमासँगैको पाकिस्तानी भूभागमा चिनियाँ सेनाको पनि ठूलो उपस्थिति छ।
 
भारतीय जासुस संस्थाले बंकर भएका ठाउँमा स्याटेलाइट फोनको सिग्नल भेटिएको बताएको छ। चिनियाँ कम्पनीका स्याटेलाइट फोनको सिग्नल मिलेकाले यहाँ चिनियाँ सैनिक रहेको भारतको दाबी छ।भारतीय जासुस संस्थाले पाकिस्तानले सुरुङ बनाउने अभियानका लागि ठूलो संख्यामा चिनियाँ सैनिक तैनाथ रहेको दाबी गरेका हुन्।
 
यो सूचना आएपछि भारतीय सीमा सुरक्षा बलका डिआइजी केके शर्माले राजस्थानको दुई दिने भ्रमण पनि गरेका छन्। उनले शनिबार जैसलमेर जिल्लास्थित पाकिस्तानले पारिपट्टि बनाएको बंकर क्षेत्रस्थित सीमा चौकीको निरीक्षण पनि गरेका छन्।
  

 

तपाईंको बिचार