Wednesday, July 26, 2017  |    

ग्रिसमा अपहरित नेपालीको सकुसल उद्दार

प्रकाशित मिति: 2016/04/30

वैशाख १८,काठमाडौं । ग्रिसमा एक महिनाअघि अपहरणमा परेका संखुवासभा चैनपुरका कृष्ण गुरुङको उद्दार गरिएको छ । कृष्णको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले इन्टरपोलको सहयोगमा उद्दार गरेको हो । 

वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक पुगेका कृष्ण दुई वर्षअघि ग्रिस जानुभएको थियो । आफू अपहरणमा परेको परिवारलाई खबरगरेपछि दाइ चन्द्रप्रसाद गुरुङले प्रहरीमा उद्दरका लागि निवेदन दिनुभएको थियो । 

इन्टरपोल मार्फत ग्रिस प्रहरीको सहयोगमा कृष्णको खोजि गरेको प्रहरीले झण्डै एक महिनापछि हात खुट्टा बाँधिएको अवस्थामा फेला पारेको हो । नेपाल प्रहरीले आवश्यक कागजात र प्राविधिक जानकारी सहित ग्रिस प्रहरीलाई खबर गरेको थियो । ग्रिस प्रहरीले त्यसैको आधारमा कृष्ण सुरक्षित हुने गरि खोजतलास गरेको थियो । 

वैशाख १ गते कृष्णलाई हातखुट्टा बाँधिएको, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा यथेन्सको कायप्स्लीबाट उद्दार गरि अपहरण मुक्त बनाएको हो । अपहरणमा संलग्न दुई नेपालीसहित पाँच जनालाई प्रहरीले पक्रेको छ । दुई जना बंगलादेशी नागरिक फरार छन् । अपहरणकारीले पीडितका दाजु चन्द्रलाई फोन गरि १४ हजार युरो फिरौती रकम माग गरेको र रकम नपाए कृष्णलाई मार्ने धम्की दिएका थिए । 

अपहरणमा संलग्न नेपाली आइती घले, दल थापा तामाङ, भारतीय जमल काजी, बंगलादेशी मम्मुन मुल्लाह, पाकिस्तानी मन्सुर अहमिद पक्राउ परेका छन् । अन्य दुई जना बंगलादेशी नागरिक फरार छन् ।

अपहरणकारीलाई ग्रिसको कानून अनुसार अपहरण तथा शरिर बन्धक, डर, धाकधम्कीद्वारा रकम असुली उद्योग, डाँका, कुटपिट र अवैध हातहतियारको प्रयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

तपाईंको बिचार