Tuesday, March 28, 2017  |    

एक अर्कालाइ गाली गर्दै अमेरिकी राष्ट्रपति उम्मेदवार

प्रकाशित मिति: 2016/06/08

जेठ २६,न्युयोर्क ।  अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका दुई मुख्य प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र हिलारी गालीगलौजमा उत्रिएका छन् । प्राइमेरी निर्वाचन समाप्त हुनै लाग्दा रिपब्लिकनबाट निर्वाचनको दौडमा रहेका डोनाल्ड ट्रम्प र डेमोक्रयाट पार्टीका प्रत्यासी हिलारी क्लिन्टन तल्लो स्तरको गालीगलौजमा उत्रिएका हुन् । राष्ट्रपतिजस्तो गरिमामय पदका उम्मेदवारका प्रत्यासी पदीय मर्यादा बिर्सेर आरोप–प्रत्यारोपमा उत्रिएको विश्लेषकले टिप्पणी गरेका छन् ।


हिलारी चोर हुन् 

प्राइमेरी निर्वाचन प्रचार अभियानमा पहिलादेखि नै निकै आक्रामक देखिएका डोनाल्ड ट्रम्पले हिलारी चोर र फटाहा भएको आरोप लगाएका छन् । डरलाग्दा इमेल काण्डमा मुछिएकी उनलाई जेल कोच्नुपर्नेसमेत ट्रम्पले बताए । ‘हिलारी कमजोर महिला हुन्, उनी चोर हुन् । हाम्रो राष्ट्रिय सुरक्षामा उनका गतिविधिले आँच आएकाले उनलाई तत्काल जेल कोच्नुपर्छ,’ ट्रम्पले भने । ‘मलाई लाग्छ उनी दयनीय पात्र हुन् । तर, इमेल काण्डमा उनको प्रत्यक्ष संलग्नता रहेकाले हिलारीलाई जेल हाल्नुपर्छ,’ क्यालिफोर्नियामा शुक्रबार आयोजित एक प्रचार¥यालीमा टम्पले भने ।


ट्रम्प तानाशाह र फटाहा हुन् 
शुक्रबार नै क्यालिफोर्नियामा आयोजित एक चुनाव प्रचार्र यालीमा हिलारीले टम्पलाई एउटा तानाशाहको बिल्ला लगाइदिएकी छिन् । ट्रम्प व्यक्तिगत रूपमा र व्यावहारिक रूपमा नै तानाशाह भएको हिलारीले आरोप लगाइन् । ‘हामीले ट्रम्पजस्ता तानाशाहलाई समर्थन गर्नु हुँदैन,’ हिलारीले भनिन् । ट्रम्पले तानाशाही ढंगले आप्रवासी र मुस्लिमलाई मुलुकबाट खेद्न खोजेको हिलारीको भनाइ छ । ट्रम्प प्राइमेरी निर्वाचनमा सुरुदेखि नै मुस्लिम र आप्रवासीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्।
आप्रवासीको प्रवाह रोक्न मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउनुपर्ने उनको धारणा छ । ट्रम्पको अभिव्यक्ति प्रचार स्टन्ट भएको पनि हिलारीले बताइन् । उनले भनिन् ‘केही हदसम्म यो उनको प्रचार स्टन्ट पनि हुन सक्छ ।’ उनले अगाडि भनिन्, ‘आफूमाथि ध्यानाकर्षण गर्न र टिभी तथा पत्रपत्रिकामा आफ्नो मुख देखाउन पनि उनी यस्तो गर्दै छन् । वास्तवमा तानाशाहले यस्तै जुक्ति अपनाउँछन् ।’ यसअघि लस एन्जलसमा आयोजिर्त यालीमा क्लिन्टनले ट्रम्पलाई ढँटुवा र फटाहा भएको बताएकी थिइन् । रियल स्टेट व्यापारी ट्रम्प अमेरिकाको राष्ट्रपतिको निर्वाचनका लागि अयोग्य रहेको उनले दाबी गरिन्।


पर्याप्त डेलिगेट्स जुटाउँछु
मंगलबार हुने प्राइमेरी अगाडि हिलारीले आफूलाई चाहिने पर्याप्त डेलिगेट्स जुटाउने बताइन् । ‘मलाई विश्वास छ कि मंगलबार निश्चय नै मैले निर्णायक रूपमा लोकप्रिय मत प्राप्त गर्नेछु । मलाई आवश्यक पर्ने न्यूनतम डेलिगेट्सको सख्ंया जुटाउनेछु,’ उनले भनिन् । चार महिना लामो प्राइमेरी निर्वाचनमा पक्रियापछि हिलारीले २३१३ डेलिगेट्स जुटाइसकेकी छिन् । डेमोक्रयाटबाट उम्मेदवार हुन न्यूनतम २३८३ डेलिगेट्स आवश्यक पर्छ । गणितीय हिसाबले उनलाई अब ६० डेलिगेट्स चाहिन्छ । हिलारी आफ्नै पार्टी डेमोक्रयाट्सका बर्नी स्यान्डर्सको कडा चुनौती सामना गरिरहेकी छिन् ।


पार्टीलाई एकढिक्का बनाउँछु
‘मंगलबारको प्राइमेरीपछि म पार्टीलाई एकढिक्का बनाउन पहल गर्नेछु । सिनेटर स्यान्डर्सले पनि सोही पहल गर्ने अपेक्षा गरेकी छु । हामी एकजुट भएर पार्टीको महाधिवेशनका लागि जानेछौँ,’ हिलारीले भनिन् । ट्रम्पलाई हराउन पनि पार्टी्भित्र एकताको खाँचो भएको उनले बताइन् ।
डेमोक्रयाट पार्टीको अधिवेशन जुलाईमा फिलाडेल्फियामा आयोजना हुँदै छ । प्राइमेरी निर्वाचनमा विजयी हुने उम्मेदवारलाई पार्टी महाधिवेशनले औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नेछ । ६९ वर्षीय ट्रम्पले आफूलाई आवश्यक पर्ने डेलिगेट्स प्राप्त गरिसकेकाले उनी राष्ट्रपतिको उम्मेदवार बन्ने प्रायस् निश्चितजस्तै बनेको छ । तथापि, यसको आधिकारिक घोषणा भने हुन बाँकी छ  ।  

 

तपाईंको बिचार