Saturday, June 24, 2017  |    

थेरेसा बेलायती प्रधानमन्त्री बन्ने पक्का

प्रकाशित मिति: 2016/07/12

असार २८,लन्डन । कन्जरभेटिभ पार्टीकी नेत्री थेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा रहेकी कन्जरभेटिभ पार्टीकी अर्की नेत्री आन्द्रेई लिडसमले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

सञ्चारमाध्यमले जनाएअनुसार नयाँ प्रधानमन्त्रीका रूपमा थेरेसाले बुधबार पदभार ग्रहण  गर्नेछिन् । वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले बुधबारै राजीनामा दिने बीबीसीले जनाएको छ । मार्गरेट थ्याचरपछि थेरेसा बेलायतको दोस्रो महिला प्रधानमन्त्री बन्न लागेकी हुन् ।

५९ वर्षीया थेरेसा क्यामरुन सरकारकी गृहमन्त्री छिन् । गत जुन २३ मा भएको जनमतसंग्रहमा ५२ प्रतिशत बेलायती नागरिकले ईयूबाट बाहिरिने पक्षमा मत दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री क्यामरुनले पदबाट राजीनामाको घोषणा गरेका थिए ।

त्यसपछि उक्त पदका लागि बेलायती कन्जरभेटिभ पार्टीका दुई नेत्री थेरेसा र आन्द्रेईले उम्मेदवारी घोषणा गरेका थिए । आगामी सेप्टेम्बर ९ भित्र कन्जरभेटिभ पार्टी्भित्र मतदान हुने र नयाँ नेतृत्व चुन्ने भनिएको थियो । तर आन्दे्रईले उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

बर्मिङ्घममा पत्रकारसँग कुरा गर्दै थेरेसाले प्रधानमन्त्रीका रूपमा आफूले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन सुनिश्चित गर्ने बताइन् ।
 

तपाईंको बिचार