Saturday, December 16, 2017

टर्कीमा सैन्य कू ४२ जनाको मृत्यु

प्रकाशित मिति: 2016/07/16

साउन १, इस्तानबुल । टर्कीमा सेनाको एक सुमहले शासन सत्ता आफ्नो हातमा लिएको दाबि गरेको  छ । सेनाको समुहले चलाएको गोली लागेर ४२ जनाको मृत्यु भएको छ ।  टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान आफ्ना समर्थकहरुका साथ इस्तानबुल विमानस्थलमा देखिएको स्थानिय मिडियाले  जनाएका छन् ।  

प्रधानमन्त्री बिनाली यिलडिरिमले एक टेलिभिजन च्यानल एनटिभीमा बोल्दै टर्कीमा भएको कू प्रयास नियन्त्रणमा लिइएको बताएपछि राष्ट्रपछि एर्दोगान विमानस्थलमा देखिएका हुन् ।

प्रेस कन्फ्रेन्समा बोल्दै राष्ट्रपति एर्दोगानले आफूलाई सत्ताच्युत गर्ने प्रयास राष्ट्रद्रोह भएको बताएका छन् । ‘जो जसले पनि यो कू गर्ने प्रयास गरेको हो उनीहरुले यसको ठूलो मुल्य चुकाउनुपर्छ,’ उनले भने ।
उनले आफू टर्कीका जनताहरुको साथमा नै रहेको र कहीँ नजाने पनि बताएका थिए । उनी कूको प्रयास हुँदा कोस्टल सहरा मारमारिसमा थिए । त्यहाँबाट उनी इस्तानबुल आएका थिए ।

‘म हिँडेको केही समयपछि नै विद्रोहीहरुले म बसेको ठाउँमा बम विस्फोट गराएका थिए,’ उनले भने, ‘उनीहरुलाई म त्यहीँ छु भन्ने लागेको थियो होला ।’

स्थानिय समय अनुसार शुक्रबार राति सुरु भएको कू को प्रयास शनिबार बिहानसम्म पनि जारी नै छ । इस्तानबुल र अंकाराका केही स्थानमा अझै पनि भिडन्त भइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस्तै त्यहाँका सरकारी अधिकारीहरुले भने कू प्रयास विफल भइसकेको दाबी गरेका छन् ।
अंकारामा रहेको संसदभवनमा पनि विस्फोट गराइएको खबर पनि प्राप्त भएको छ । कू प्रयासमा हालसम्म आधिकारीक रुपमा ४२ जनाको मृत्यु भएको छ । मारीने मध्ये अधिकांश प्रहरी अधिकारीहरु रहेको बताइएको छ । 

राष्ट्रपति एर्दोगानका अनुसार कूको प्रयासमा अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनको नेतृत्व रहेको छ । राष्ट्रपति एर्दोगानले पहिलेदेखि नै गुलेनले आफ्नो समर्थनमा रहेका न्याय प्रशासन र सैनिकहरुलाई सरकारलाई अपदस्त गर्न आवहान गर्दै आइरहेका थिए ।

यद्यपी गुलेनले भने यसको विरोध गरेका छन् । कू प्रयासमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै उनले भनेका छन्, ‘सरकार स्वतन्त्र निवार्चनबाट बनाउने हो शक्तिबाट होइन ।’

राष्ट्रपति एर्दोगानले जनतालाई कू को विपक्षमा सडकमा ओर्लन आव्हान गरेपछि हजारौं मानिस सडकमा ओर्लिएर विरोध गरिरहेका छन् ।

कू प्रयासमा रहेको सैनिक समुहले भने अंकारा र इस्तानबुलमा कर्फ्युसँगै मार्सल ल लगाएको बताएको छ । यस्तै टर्की सेनाका प्रधानसेनापति समेत आफ्नो कब्जामा रहेको दाबी गरेको छ ।
 

तपाईंको बिचार