Tuesday, March 28, 2017  |    

टर्कीमा सैन्य कू को इतिहास र सैन्य कू पछाडिका कारण

प्रकाशित मिति: 2016/07/17

किन भयो त ‘कू’ को प्रयास ?

साउन २, काठमाडौं । टर्कीमा सेनाको एक समुहले सैन्य ‘कू’को  असफल प्रयास गरेपछि यतिबेला विश्वभर यसैको चर्चा छ । राजनीतिक विश्लेषकहरुले सेनाको अधिकार कटौती भएको र आन्तरिक अन्तरविरोधलाई कूको कारण मानिरहेका छन् ।

राष्ट्रपति एर्डोगान मार्मा्रिसमा विदा मनाइरहेका थिए, त्यसैबेला टर्किश आम्र्ड फोर्स, जसमा सैनिक, नौ सैनिक र वायु सेना समेत पर्दछ, ले देशमा कानुनी राज, स्वतन्त्रता, संवैधानिक अधिकार र सामान्य सुरक्षाको अवस्था बिग्रिएकोले सम्पूर्ण प्रशासनिक संयन्त्र आफ्नो नियन्त्रणमा लिएको दाबी  ग¥यो । तर अंकारा आइपुगेका राष्ट्रपति एर्डोगानले हजारौँ जनतामाझ सडकमा ओर्लिएर अधिकार रक्षार्थ आफूलाई सघाउन सहयोग गर्न अपिल गरे । ‘कू’ को प्रयासलाई उनले राजद्रोह भन्दै निन्दा गरे । त्यसपछि दशौँ हजार मानिस सडकमा ओर्लिए । धेरैको हातमा टर्कीको झण्डा फर्फराइरहेको थियो । केही मान्छे ट्यांकमाथि चढेका तथा बाटोमा उभिएर सैनिक वाहनहरुको आवतजावतमा व्यवधान खडा गरिरहेको दृश्य पनि टेलिभिजनमा प्रसारण गरिएको थियो ।

इस्तानबुलमा शनिबार बिहान जनसमूह र सैनिकहरुबीच भीडन्त भयो । सैनिकहरुले जनतामाथि गोली चलाएको बताइएको छ । सत्तारुढ एकेपी पार्टीका समर्थकहरु सैनिकहरुसँग देशैभर भिडिरहेको जनाइएको छ । राजधानी अंकारासहित इस्तानबुललगायत ठूला सहरहरुमा जनताले सडक कब्जा गरिसकेका छन् ।

यो सामग्री तयार पारुन्जेल झण्डै १५ सय विद्रोही सैनिकहरु पक्राउ परिसकेका छन् भने अन्य सैयौँले आत्मसमर्पण गरेका छन् । रातभरीको हिंसामा मारिनेको संख्या १ सय ४ पुगिसकेको छ । ट्यांकबाट ओर्लिएर आत्मसमर्पण गरिसकेका सैनिकका दृश्यहरु पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रसारण भइरहेका छन् । इस्तानबुलको अतातुर्क एयरपोर्ट समेत सञ्चालनमा आइसकेको छ । विद्रोहीहरुको कब्जामा परेका आर्मी चिफ अफ स्टाफ उमित डुन्दर पनि मुक्त भइसकेका छन् । यसरी हेर्दा राष्ट्रपति रेसेप तैयप एर्डोगनका समर्थक, प्रहरी र सेनाको पहलमा कू लाई असफल बनाएको देखिन्छ ।

किन भयो त ‘कू’ को प्रयास ?

कतिपय विश्लेषकहरुलाई पत्याउने हो भने राष्ट्रपति एर्डोगानको शासनमा टर्कीको सेनाको थुप्रै अधिकार कटौती भएको छ, जसले गर्दा सेना उनीसँग रुष्ट छ । सैनिक अधिकारीहरु र एर्डोगान आफूलाई प्रजातन्त्रका पिता मान्दछन् । टर्कीमा उनका समर्थकहरु पनि धेरै छन् । एर्डोगानले अमेरिकाको पेन्सेलभानियामा निर्वा्सित जीवन बिताइरहेका हिज्मत आन्दोलनका प्रभावशाली नेता फतुल्लाह गुलेनलाई आफ्नो सरकार विरुद्ध कु गर्न सेनालाई उक्साएको आरोप लगाएका छन् ।
सेनासँगको एर्डोगानको तनावपूर्ण सम्बन्धलाई लिएर पहिलेदेखि नै विभिन्न अनुमानहरु गरिदैँ आएको थियो । गत मेमा मध्यपूर्व तथा टर्की सम्बन्धी अमेरिकी विशेषज्ञ माइकल रुबिनको एक लेख अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटको वेभसाइटमा प्रकाशित भएको थियो, जसमा उनले टर्कीमा सैन्य कु हुनसक्ने बताएका थिए । उनका अनुसार एर्डोगानले सन् २०१३ मा इजिप्टका मोहम्मद मोर्सीले जस्तो सहानुभूति वाशिंगटनबाट प्राप्त गर्न नसक्ने पनि बताएका थिए।
तथापि राष्ट्रपति बाराक ओबामाले कुको प्रयास असफल भएपछि निर्वा्चित सरकारलाई समर्थन गर्ने घोषणा गरेका छन् । विश्वका अन्य प्रभावशाली नेताहरुले पनि एर्डोगानलाई समर्थन गर्ने जनाइसकेका छन्।

टर्कीमा सैन्य ‘कू’को इतिहास

सन् १९२२ मा नोभेम्बर २२ मा १२९९ मा सुरु भएको ओट्टोमन वंशको सुल्तानी शासनबाट मुक्त भएपछि टर्कीको आधुनिक इतिहास सुरु भएको मानिन्छ । २९ अक्टोबर १९२३ मा टर्कीलाई गणतन्त्र घोषणा गरियो । त्यसपछि मुस्तफा केमल अतातुर्कको नेतृत्वमा टर्की बिस्तारै पश्चिमी प्रभावमा पर्न थाल्यो । शिक्षा, धर्म, राजनीति जस्ता कुराहरुमा परम्परागत मान्यताहरु तोडिदैँ गए । यद्यपि सिक म्यान अफ युरोप भनेर नै टर्कीलाई चिन्ने गरिन्थ्यो । १९४६ सम्म टर्की एक पार्टी व्यवस्थामा चल्यो ।
दोस्रो विश्वयुद्धमा सुरुमा तटस्थ बस्ने निर्णय गरेको टर्कीले पछि जर्मनीसँग सम्झौता  ग¥यो र सन् १९४२ मा सोभियत संघविरुद्ध युद्धको घोषणा र्गयो । तर १९४४ मा धुरी राष्ट्रहरु युद्ध हार्दै गएपछि उसले धुरी राष्ट्रसँगको सम्झौता रद्ध ग¥यो ।१९४५ को फेब्रुअरीमा उसले जर्मनी र जापानविरुद्ध युद्धको घोषणा नै   ग¥यो  ।

१९४६ पछि टर्कीमा बहुदलीय व्यवस्था सुरु भयो । १९५० मा  निर्वाचित  डेमोक्रयाटिक पार्टीले सुरुमा अर्थतन्त्रमा वृद्धि तथा मुस्लिम कट्टरतालाई खुकुलो बनाए पनि दशकको अन्त्यतिर आर्थिक अवस्था बिग्रिदैँ गयो । मार्सल प्लान र ट्रुम्यान डक्टरिनको चेपुवामा परेको बेला प्रधानमन्त्री अदनान मेन्देरास सोभियत संघमा सम्बन्ध सुधारका लागि जानै लाग्दा मे २७ १९६० मा टर्कीको इतिहासमा पहिलो सैन्य कु भयो । सैन्य कुका कमाण्डर सेमेल गुर्सेलले कुको एक मात्र उद्धेश्य स्वस्थ र बलियो प्रजातान्त्रिक बाटोमा टर्कीलाई फर्काउनु रहेको बताए । सैन्य कुपछि निवर्तमान प्रधानमन्त्रीसहित अन्य कैयौँ राजनीतिज्ञलाई मृत्युदण्ड दिइयो । करीब छ वर्षसम्म प्रधानमन्त्रीको रुपमा गुर्सेल शक्तिमा रहे । 

मार्च १२ १९७१ मा सैनिक जनरल मेम्दुह तेग्म्याकले प्रधानमन्त्री सुलेमान डेमिरेललाई प्रजातान्त्रिक मूल्यमान्यतामा रही तत्कालीन अराजकतालाई अन्त्य गर्न एक बलियो सरकार बनाउन माग गर्दै एक ज्ञापनपत्र बुझाए । त्यसपछि प्रधानमन्त्रीले राजिनामा दिए । र अन्तरिम सरकारको गठन गरियो । यसलाई टर्कीको इतिहासमा ज्ञापनपत्रद्वारा गरिएको कु भनेर चिनिन्छ । १९७४ मा नेशनल सालभेसन पार्टीको सरकार गठन भयो तर आर्थिक राजनीतिक दुरावस्थामा कुनै सुधार भएन । त्यसैले सत्तरीको दशकको अन्त्यतिर कम्युनिष्टहरु र अतिराष्ट्रवादीहरुको बीचमा भएको हिंसाको शृंखलामा हजारौँको मृत्यु भयो ।

सेप्टेम्बर १२ १९८० मा जनरल केनान एभरेनको नेतृत्वमा राष्ट्रिय टेलिभिजनको माध्यमबाट सैन्य कुको घोषणा गरियो । यसका साथै देशैभर मार्सल ल लागु भयो । दुई वर्षपछि नयाँ संविधान घोषणा गरियो, जसलाई ९२ प्रतिशत जनमतले स्वीकार  ग¥यो । जनरल केनान एभरेन सात वर्षसम्म राष्ट्रपतिको रुपमा सत्तामा रहे ।

फेबु्रअरी २७ १९९७ मा पुनः अर्को सैन्य कु भयो । उक्त कु टर्कीको इतिहासमा पोस्टमोर्डन कुको रुपमा परिचित छ । प्रधानमन्त्री नास्मेटिन एर्बाकानलाई जनरल इस्माइल हक्की कारदेनले देशमा मुस्लिम राजनीति हावी हुदैँ गएको भन्दै राजीनामा गर्नका पत्र पठाएका थिए । प्रधानमन्त्रीले सोहीअनुसार राजिनामा दिए । त्यही बेला अहिलेका राष्ट्रपति एर्डोगान, जो त्यसबेला इस्तानबुलका मेयर थिए, लाई इस्लामको समर्थनमा एक कविता सुनाएको अभियोगमा जेल चलान तथा पाँच वर्षसम्मका लागि राजनीति गर्नका लागि प्रतिबन्ध लगाइएको थियो।
राष्ट्रपति एर्डोगान अफ्ठेरोमा
यसरी हेर्दा टर्कीमा प्रत्येक दश वर्षमा सैन्य कुको प्रयास हुने गरेको देखिन्छ । १९६० वा सत्तरीको दशकतिरका कु मा शीतयुद्धको अन्र्तराष्ट्रिय राजनीति पनि जोडिएको पाइन्छ । वर्तमानमा टर्की आफैँ समेत आतंकवादसँग जुधिरहेको राष्ट्र हो । सिरियाका राष्ट्रपति बसर अल असदले बारम्बार कुर्दिश लडाकुहरुलाई सहयोग गरेर टर्कीले आतंकवादको समर्थन गरेको वक्तव्य दिइरहेका छन् ।
राष्ट्रपति एर्डोगानको अन्तर्रा्ष्ट्रिय सम्बन्ध पनि अहिले तनावपूर्ण छ । सिरियामा रसियाको उपस्थितिलाई लिएर आक्रमक बनेको नेटो तथा युरोपेली युनियनसम्बद्ध राष्ट्रहरुको उक्साहटमा २४ नोभेम्बर २०१५ मा टर्कीले एक रुसी सुखोई एस यु २४एम जहाज खसाउनुका साथै एक पाइलटको हत्या समेत भएको थियो । त्यसबाट क्रुद्ध रुसले टर्कीसँगको व्यापारिक सम्झौताहरु खारेज गर्दै आफ्ना पर्यटकहरुलाई टर्की जानबाट रोकेको थियो । यसबाट ठूलो आर्थिक क्षति बेहोर्नुपरेपछि गत २६ जुनमा टर्कीले औपचारीक रुपमा माफी माग्दै रुसलाई पत्र पठाएको थियो।

त्यस्तै टर्की्भित्रै पनि विभिन्न शक्तिसमूह तथा स्वार्थसमूहहरु सक्रिय छन् । सिरियाको तेलबाट फाइदा लिन खोज्ने तस्कर समूहदेखि लिएर सैन्यपंक्तिभित्रै पनि शक्ति र सत्तामा भाग खोज्नेहरु छन् । आइएसआइएसको बढ्दो प्रभावका कारण देशभित्रैका युवाहरुमा कट्टरपन्थी हुने प्रक्रिया तीव्र बनेको छ भने नृशंस हत्या तथा आतंकवादी आक्रमणहरु बढिरहेका छन् । यस्तोमा खतरनाक सैन्य कुबाट आफू र देशलाई तत्कालका लागि बचाउन सफल भए पनि राष्ट्रपति एर्डोगानका लागि देशभित्र र बाहिरका प्रतिकूलताहरुलाई मिलाउँदै अघि बढ्नु पक्कै पनि सहज हुनेछैन।

( एजेन्सीको सहयोगमा )

तपाईंको बिचार