Wednesday, July 26, 2017  |    

थाईल्याण्डमा संविधान लागु गर्ने की नगर्ने भन्ने विषयमा जनमत संग्रह हुँदै

प्रकाशित मिति: 2016/08/07

श्रावण २३, थाईल्याण्ड । थाइल्यान्डमा आज जनमत संग्रह भईरहेको छ ।

सेनाले गठन गरेको समितिले बनाएको संविधानलाई लागु गर्ने वा नगर्ने भन्ने बारेमा जनमत संग्रह भइरहेको हो ।
थाई सेनाले सन् २०१४ मा थाइल्यान्डको सत्ता आफ्नो कब्जामा लिएसँगै नयाँ संविधान बनाउनका लागि समिति बनाएको थियो । सत्ता पक्षले यो संविधान लागु भए देशमा प्रजातन्त्रको बहाली हुने दाबी गरे पनि विपक्षीहरुले निरंकुश संविधान लाद्न खोजेको आरोप लगाइरहेका छन् ।
विपक्षीले जनमत संग्रहका लागि खुलेर प्रचारप्रसार गर्न नपाएको र मतदान प्रकृया पनि धाँदली रहित हुनेमा शंका व्यक्त गरेका छन् । बिहानदेखि सुरु भएको मतदानमा निकै कम मानिसहरु सहभागि भइरहेको बताइएको छ । 

 
चार करोड थाइले ‘नयाँ संविधानको मस्यौदा पारित गर्ने वा नगर्ने ?’ भन्ने मा मतदान गरिरहेका छन् ।
यदी ‘गर्ने’ भन्ने पक्षले जनमत संग्रह जितेमा नयाँ संविधान लागु हुन्छ । जसले सैनिकलाई राजनीतिमा प्रवेश गर्ने बाटो खुल्छ । सन् २०१४ मा भएको ‘कु’ को नेतृत्व गरेका हालका प्रधानमन्त्री प्रायुथ चानओचाले वैधानिक रुपमै आगामी वर्ष हुने निर्वाचनमा पनि भाग लिन पाउने छन् ।
यदी ‘नगर्ने’ भन्ने पक्ष विजयी भएमा भने त्यहाँको राजनीतिक अवस्था अनिश्चतता तर्फ धकलिने छ । यद्यपि सैनिक सरकारकै हातमा सत्ताको बागडोर रहने छ ।
यस्तै मतदाताले ‘माथिल्लो सदनका सदस्यले पनि तल्लो सदनमा हुने प्रधानमन्त्री चयन प्रकृयामा भाग लिन पाउने नपाउने ?’ भन्ने प्रश्नको पनि जवाफ जनमत संग्रहमा दिनुपर्ने छ ।

 
सैन्य सरकारले पछिल्लो दश वर्ष यता थाइल्यान्डमा देखिएको अस्थिरतामा सम्पूर्ण रुपले भ्रष्ट नेताहरु जिम्मेवार रहेको दाबी गर्दै आएको छ । गत मार्च महिनामा सार्वजनिक गरिएको संविधानको मस्यौदाले कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न गाह्रो हुने प्रावधान राखेको छ ।
यस्तै २५० सदस्य रहने माथिल्लो सदनका सम्पूर्ण सदस्य सैनिक सरकारले नियुक्त गर्ने विवादास्पद प्रावधान समेत राखिएको छ । कु हुनु अघिसम्म माथिल्लो सदनको कुल संख्याको आधी प्रत्यक्ष निर्वाचनबाट चयन हुने र अन्यलाई नियुक्त गर्ने प्रावधान रहेको थियो । 
नयाँ संविधानको विपक्षमा रहेकाहरुका अनुसार सैन्य सरकारले सत्तामा आफ्नो पकडलाई थप पाँच वर्ष मजबुत बनाउनका यी सबै कार्यहरु गरिरहेका हुन् ।

यस्तो छ, थाईको अस्थिर राजनीति
थाइल्यान्डमा पछिल्लो एक दशक यता राजनीतिक अस्थिरता देखिएको छ । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले थाइल्यान्डमा भएका हरेक निर्वाचनहरुमा विजयी हुँदै आइरहेको थियो । तर उनको सरकार हरेकपटक कि त अदालती आदेशबाट वा सैन्य कुबाट बर्खास्त हुँदै आइरहेको छ ।

२००६ मा सिनावात्रा भ्रष्टाचारको मुद्दामा कारवाहीमा पर्ने डरले देश छाडेर भागेका थिए । त्यसयता उनी निर्वासित जीवन बिताइरहेका छन् । यद्यपि उनकी बहिनी यिङलिक सिनावात्रा २०११ को निर्वाचनमा विजयी हुँदै प्रधानमन्त्री चयन भएकी थिइन् । तर, यिङलिकको सरकार पनि अदालतको आदेशबाट बर्खास्त भएको थियो । उनी माथि पनि भ्रष्टाचारको अभियोग लगाइएको थियो । त्यसपछि थाई सैनिकले शासन सत्ता आफ्नो हातमा लिएको हो ।

 

 

तपाईंको बिचार