Tuesday, April 25, 2017  |    

सन् २०१६ सर्वाधिक तातो वर्ष हुने

प्रकाशित मिति: 2016/11/16

मंसिर १ । विश्व मौसम संगठन (डब्लुइएमओ)ले सन् २०१६ अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम भएको वर्ष हुने संकेत देखिएको घोषणा गरेको छ ।

माराकेशमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ९कोप २२०कै दौरान डब्लुएमओले सन् २०१६ का ९ महिनाका तापक्रमको तथ्यांकले यो वर्ष सबैभन्दा तापमान भएको वर्ष हुने संकेत देखिएको घोषणा गरेको हो ।
डब्लुएओका विशेषज्ञहरुले जनवरीदेखि सेप्टेम्बर महिनासम्मको ९ महिनाको तापक्रम पूर्वऔद्योगीकरणको समयभन्दा १।२ डिग्री सेन्टिग्रेडभन्दा बढी रहेको बताएका छन् ।

सन् २०१६ का ९ महिनामा विश्वको तापक्रम सन् १९६१ देखि १९९० सम्मको तापक्रमभन्दा ०.८८ डिग्री बढी रहेको प्रतिवेदनले बताएको छ । गतवर्ष पेरिसमा विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडभन्दा बढी बढ्न नदिने सहमति भएको थियो । सहमतिको त्यही बुँदाप्रति झक्झक्याउन डब्लुएमओले २५ हजार वार्ताकार पर्यवेक्षक सहभागी माराकेश जलवायु सम्मेलनकै दौरान तापक्रमको अवस्था सार्वजनिक गरेको हो ।

डब्लुएमओका महासचिव पेटेरी टलासले आर्कटिक क्षेत्रका कतिपय स्थानमा तापक्रम औसतभन्दा ६ देखि ७ डिग्री बढी र रुस, अलास्का र उत्तर–पश्चिमी क्यानडामा औसतभन्दा ३ डिग्री बढी रहेको बताएका छन् ।

महासचिव टलासका अनुसार सन् २०१६ देखि नै जलवायु परिवर्तनका विभिन्न सूचक र हरितगृह ग्यासहरु पनि बढ्दै गएको देखिएको छ । ‘सन् २०१६ मा वायुमण्डलमा हानिकारक हरितगृह ग्यासको मात्रा बढिरहेको छ’, महासचिव टलासले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘आर्कटिक क्षेत्रको बरफ उल्लेख्य मात्रामा पग्लनेक्रम जारी छ भने ग्रीनल्याण्डको बरफ सरदरभन्दा धेरै मात्रामा पग्लिन थालेको छ । डब्लुएमओले सन् २०१४ र २०१५ पनि अघिल्ला वर्षभन्दा ताता भए पनि सन् २०१६ त्यो भन्दा सर्वाधिक तातो वर्ष हुने प्रक्षेपण गरेको छ ।
 
मौसमविद्हरुका अनुसार यस वर्षको तापक्रम उच्च हुनुमा एलनिनो नामको मौसमी घटनाको पनि भूमिका देखिन्छ  । तर, त्यो मात्रा शून्य दशमलव २ डिग्री मात्रै भएको हुँदा विश्वव्यापी तापक्रम वृद्धिको ठूलो कारक भने हरितगृह ग्यास नै मानिएको छ ।
गत वर्ष पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ९कोप २१०ले विश्वको तापक्रम २ डिग्री सेल्सीयसभन्दा तल कायम राख्ने र तापक्रममा हुने बृद्धिलाई १.५ डिग्री सेल्सीयसमा सीमित राख्ने निष्कर्ष निकालेको थियो । त्यसमा १९७ मुलुकले हस्ताक्षर गरेका छन् भने बुधबारसम्म ११० मुलुकले अनुमोदन गरिसकेका छन् ।
कूल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको कम्तिमा ५५ प्रतिशत उत्सर्जन भएका जलवायु परिवर्तनसम्बन्धी महासन्धिका ५५ पक्ष मुलुकहरुले अनुमोदन, स्वीकृत वा समर्थन गरेपछि सम्झौता लागू हुन्छ ।

माराकेशमा जलवायु सम्मेलन जारी रहेकै बेला डब्लुएमओले तापक्रमको अवस्था सार्वजनिक गर्नुलाई पेरिस सम्झौतामा भएको बुँदा कार्यान्वयनमा विकसित मुलुकहरुलाई झक्झक्याएको विशेषज्ञहरुको ठहर छ ।

डब्लुएमओका विशेषज्ञहरुले पनि पेरिस सम्झौतामा भएको तापक्रम कन्ट्रोल गर्ने बुँदा विश्व समुदायको मागपछि आएका कारण त्यसप्रति खेलाँची नगर्न जलवायु वार्ताकारलाई चेतावनी दिएका छन् ।

डब्लुएमओका अनुसार सन् २०१५ मा वायुमण्डलमा हरितगृह ग्यासको मात्रा ४०० पार्ट्स पर मिलियन (पिपिएम) रहेकामा सन् २०१६ मा आइपुग्दा ४०१.४२ पिएिएम पुगेको छ । अझै सचेत नहुने हो भने तापक्रम बढ्ने र त्यसले जलवायु परिवर्तनजन्य जोखिम बढाउने आंकलन गरिएको छ । –एजेन्सि

तपाईंको बिचार