Tuesday, March 28, 2017  |    

ग्रीसले कर्जादाताको प्रस्ताव नमान्ने

प्रकाशित मिति: 2015/07/09

असार २१, एथेन्स (ग्रीस) । ग्रीसमा आइतवार भएको जनमतसङ्ग्रहमा त्यहाँका नागरिकले अन्तरराष्ट्रिय कर्जादाताहरूले पेश गरेको प्रस्ताव मान्न अस्वीकार गरेका छन् । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा यूरोपेली सङ्घले ग्रीसलाई थप वित्तीय उद्धार प्राप्त गर्न खर्च कटौती गर्नुपर्ने कडा शर्त राखेका थिए र यसमाथि निर्णय गर्न त्यहाँ जनमतसङ्ग्रह गरिने घोषणा गरिएको थियो । जनमतसङ्ग्रहअनुसार त्यहाँ ६१ प्रतिशत जनताले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । यस प्रस्तावको पक्षमा मात्र ३९ प्रतिशत मत खसेको बताइएको छ । 

यो जनमतसङ्ग्रह ग्रीसका लागि निर्णायक मोड रहेको थियो । नगद अभावको समस्या र आर्थिक सङ्कटको चपेटामा आएको ग्रीस यूरोजोनबाट बाहिरिने र उसले एकल मुद्रा यूरोसमेत त्याग्नुपर्ने बताइएको छ । यद्यपि, जनमतसङ्ग्रहपछि भने ग्रीसलाई यूरोजोनबाट निकाल्न नसकिने त्यहाँका अर्थमन्त्री यानिस वेराओफाकिसले बताएका छन् । त्यस्तै आगामी केही दिनभित्र यूरोपेली केन्द्रीय बैङ्कले ग्रीसलाई थप कर्जा नदिएको खण्डमा त्यहाँका बैङ्कमा रहेको रकम समाप्त हुने र यसले जनताको आक्रोशलाई बढाउने जानकारहरू बताउँछन् ।

ग्रीस आफ्नो ऋण भुक्तान गर्ने नयाँ समयसीमामा पुनः डिफल्ट गर्नसक्ने, जसकारण सङ्कट थप गहिरिने विश्व अर्थतन्त्रका जानकारहरूको भनाइ छ । हाल ग्रीसका सबै बैङ्क जुलाई ७ सम्मका लागि बन्द छन् । जनमतसङ्ग्रहको यस नतीजालाई प्रधानमन्त्री अलेक्सी सिप्रसको ठूलो जित मानिएको छ भने यसबाट विपक्ष दल दबाबमा आएको छ र विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री एण्टोनी सामारसले राजीनामा दिएका छन् । यस नतीजापछि सोमवार जर्मन चान्सलर एञ्जेला मर्केल र फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्दले भेट वार्ता गर्दै छन् । दुवै देशले ग्रीसलाई ठूलो परिमाणमा कर्जा दिएका छन् र उनीहरूले अब अगाडि नयाँ रणनीतिको निर्धारण गर्ने बताइएको छ । दुवै देश ग्रीस यूरोजोनबाट बाहिरियोस् भन्ने चाहँदैनन् । एजेन्सी

तपाईंको बिचार