Saturday, December 16, 2017

ग्रीसको जनमतसङ्ग्रहपछि शेयर बजारमा हलचल

प्रकाशित मिति: 2015/07/09

असार , बर्लिन (जर्मनी) ।ग्रीसमा भएको जनमतसङ्ग्रहमा कर्जादाताको प्रस्ताव अस्वीकार गर्ने पक्षको जितसँगै एशियाली तथा यूरोपेली शेयर बजार घटेको छ । यससँगै यूरापेली मुद्रा यूरोको मूल्यसमेत घटेको छ । उक्त दिन यूरोको भाउ डलर र पाउण्डको तुलनामा क्रमशः शून्य दशमलव ४ प्रतिशत र शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । 

जनमतसङ्ग्रहपछि ग्रीस यूरोजोनबाट बाहिरिनसक्ने सम्भावनाले समेत थप बल पाएकाले शेयर बजारमा कमी आएको विश्लेषण गरिएको छ । थप वित्तीय उद्धारका लागि अन्तरराष्ट्रिय कर्जादाताले पेश गरेका प्रस्ताव मान्न अस्वीकार गरेसँगै सोमवार अधिकांश एशियाली शेयर बजारमा कमी आएको थियो । धेरैजसो बजारमा हप्ताको पहिलो दिनको कारोबार सुस्त बन्यो । यसको असर भारतीय बजारमा समेत देखियो र बिहानीको कारोबारमा सबै सूचक रातो चिह्नमा थिए । 

सोमवार जापानी शेयर परिसूचक निक्केई २ प्रतिशतभन्दा बढीले घटेको थियो । उता, पेरिसको सीएसी ४० र फ्र्याङ्कफर्टको ड्याक्स क्रमशः १ दशमलव ४ प्रतिशत र १ दशमलव ६ प्रतिशतले घटेको थियो । शेयर बजारमा बैङ्कको शेयरमूल्य सबैभन्दा बढी घट्नेमध्येमा रहेको थियो । ग्रीस सङ्कटले खराब कर्जाको नोक्सानीलाई बढाउने र यसले सरकारका लागि कर्जा लागतमा वृद्घि हुने अनुमानबीच शेयर बजारमा कमी आएको हुनसक्ने बजार विश्लेषकहरू बताउँछन् ।
 
यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले थप कर्जा प्रवाह नगरेमा ग्रीसेली बैङ्क चरम् नगद अभावको चपेटामा आउने विश्लेषण गरिएको छ । यसले तलब तथा निवृत्तिभरणका लागि ग्रीसमाथि तत्काल नयाँ मुद्रा जारी गर्ने दबाब आउने बताइएको छ । ग्रीस सङ्कटको भारतीय बजारमा खासै असर नपर्ने भारतीय बजार विज्ञहरूको भनाइ छ । ग्रीसको जनमतसङ्ग्रहपछि विदेशी बजारमा कमी आए पनि लामो अवधिका लागि त्यति असर पर्दैन । हालै मात्र भारतीय केन्द्रीय बैङ्कका गभर्नर रघुराम राजनले पनि ग्रीस सङ्कटले भारतमा खासै प्रभाव नपर्ने बताएका छन् । एजेन्सी

तपाईंको बिचार