Tuesday, April 25, 2017  |    

विश्वका अढाइ अर्ब मानिस सरसफाइको पहुँचबाहिर

प्रकाशित मिति: 2015/07/09

असार , मनिला (फिलिपिन्स) । विश्वमा अढाइ अर्ब मानिस सरसफाइको पहुँचबाट बाहिर रहेको एक प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा राष्ट्रसङ्घीय बालकोष युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका हरेक तीन जनामध्ये एक जना सरसफाइको पहुँचबाहिर रहेका छन् । अर्थात् विश्वका २ अर्ब ४० करोड मानिस आधारभूत सरसफाइबाट बञ्चित छन् । विश्वका १४ करोड ४० लाख मानिसले अझै पनि खुला स्थानमा दिसापिसाव गर्ने गरेको तथ्याङ्क छ । 

खुला स्थानमा दिसापिसाव गर्नु एउटा जटिल समस्या भएको र यसले वातावरण दूषित पार्नुका साथै अनेक प्रकारका रोगको समेत मुख्य कारक रहेको प्रतिवेदनले देखाएको छ । विश्वका सबै मानिसमा सरसफाइको पहुँच नहुँदा खानेपानीको गुणस्तरलाई बेवास्ता गरिन्छ, जसकारण अधिकांश मानिसले पानीसम्बन्धी रोगका कारण ज्यान गुमाइरहनुपर्ने डब्ल्यूएचओको जनस्वास्थ्य, वातावरण विभागकी निर्देशक मारिया नेइरीले बताएकी छन् । शहस्राब्दी विकास लक्ष्यमा आधारभूत सरसफाइलाई मुख्य लक्ष्यका रूपमा लिएको संयुक्त राष्ट्रसङ्घले यो वर्षसम्ममा आधारभूत सरसफाइको पहुँचबाहिर रहेको जनसङ्ख्या आधाले घटाउने योजना तय गरेको थियो । 

१५ वर्षअघि तय गरिएको सो योजनाअनुसार यो वर्षसम्ममा विश्वका ७७ प्रतिशत मानिसमा सरसफाइको पहुँच हुनुपर्ने थियो । तर, हाल विश्वका ६८ प्रतिशत मानिसमा मात्र यसको पहुँच छ । शहस्राब्दी विकास लक्ष्यको सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्न अझै ७० करोड जनसङ्ख्यामा आधारतभूत सरसफाइको पहुँच हुन आवश्यक रहेको प्रतिवेदनले देखाएको छ । यसबाट बालमृत्युदर घटाउने लक्ष्यलगायत अन्य लक्ष्यमा समेत बाधा आउनसक्ने देखिएकाले यो समस्या चाँडै नै समाधान गर्न आवश्यक रहेको देखिएको छ ।

सूर्तीजन्य पदार्थमा कर कम भयो 
यसैबीच, डब्ल्यूएचओले संसारका कमैमात्र देशले उक्त सङ्गठनको मापदण्डबमोजिम सूर्तीजन्य पदार्थमा कर लगाएको बताएको छ । सङ्गठनले सूर्तीजन्य पदार्थहरूमा स्थानीयस्तरमा तय गरिएको खुद्रा मूल्यको कम्तीमा पनि ७५ प्रतिशत कर लगाउँदा विश्वमा धूम्रपान नियन्त्रणमा सहयोग पुग्ने धारणा व्यक्त गरेको छ । हालैमात्र सङ्गठनले सार्वजनिक गरेको विश्वमा धूम्रपान उपभोगको अवस्थासम्बन्धी प्रतिवेदनमा यसरी कर लगाउने राष्ट्र संसारमा निकै थोरै मात्र पाइएको छ । 

विश्वमा धूम्रपान नियन्त्रणका लागि विभिन्न छवटा मापदण्डभित्र सूर्तीजन्य पदार्थमा बढी कर पनि समावेश छ । यसले यस्तो पदार्थको किनबेचलाई हतोत्साही गराउने भएकाले उपभोगमा कमी आउने विश्वास लिइएको छ । तर धूम्रपान नियन्त्रणका लागि आवश्यक मानिएको यो नीतिको पालना गर्नेमा विश्वका धेरै कममात्र देश रहेका छन् । अझ कतिपयले त धूम्रपानमा कर नै नलगाउने पनि गरेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । सूर्तीजन्य पदार्थको सेवनबाट संसारमा प्रत्येक वर्ष कम्तीमा पनि ६० लाख नागरिकको ज्यान जाने गरेको छ । रासस/एपी/एजेन्सी

तपाईंको बिचार