Saturday, September 23, 2017

दक्षिण कोरियाली अटो निर्यात घट्यो

प्रकाशित मिति: 2015/07/09

असार , सोल (दक्षिण कोरिया) । सन् २०१५ को पहिलो अर्धवार्षिकीमा दक्षिण कोरियाली अटोनिर्माताहरूको कार निर्यातमा कमी आएको छ । सो अवधिमा उदीयमान बजारको कार मागमा आएको कमी र जापानी मुद्रा येन र यूरोपेली मुद्रा यूरोको भाउमा आएको कमीका कारण कार निर्यात ३ प्रतिशतले घटेको एक सरकारी प्रतिवेदनले देखाएको छ । जनवरी–जुन अवधिमा कोरियाले १५ लाख ५१ हजार ९ सय ८२ ओटा कार निर्यात गरेको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले बताएको छ । 

रूसलगायतका सुस्त आर्थिक वृद्घिको चपेटामा आएका उदीयमान राष्ट्रका बजारको मागमा आएको कमीका कारण निर्यात घटेको बताइएको छ । त्यस्तै जापानी येन र यूरोको मूल्यमा आएको कमीले स्थानीय निर्यातकहरूको मूल्य प्रतिस्पर्धा घटाएका कारण यस्तो भएको हुनसक्ने विश्लेषण गरिएको छ । सो अवधिमा कोरियाले यूर्वी यूरोप, ल्याटिन अमेरिका र मध्यपूर्वी क्षेत्रमा गरेको अटो निर्यात क्रमशः ६४ दशमलव ९ प्रतिशत, २३ दशमलव २ प्रतिशत र १० दशमलव १ प्रतिशतले घटेको मन्त्रालयले बताएको छ ।

यद्यपि, डलरको तुलनामा कोरियाली मुद्रा वनको भाउमा आएको कमीका कारण अमेरिकामा भएको अटो निर्यात भने १७ दशमलव १ प्रतिशतले बढेको तथ्याङ्क छ । पहिलो अर्धवार्षिकीमा पाँचओटा कोरियाली कार निर्माताहरूले उत्पादन गरेको कारको सङ्ख्या गतवर्षको तुलनामा शून्य दशमलव ९ प्रतिशतले घटेर २३ लाख २१ हजार ८ सय ४० मा ओर्लिएको छ । विदेशी माग कमजोर हुँदा निर्यात घटेको हो । 

जनवरी–जुन अवधिमा घरेलु बजारमा कार विक्रीको सङ्ख्या ६ दशमलव २ प्रतिशतले बढेर ८ लाख ५७ हजार १ सय ६९ मा उक्लिएको छ । सो अवधिमा कोरियाली कारको विक्री ३ दशमलव ४ प्रतिशतले बढेको थियो भने विदेशी लक्जरी कार विक्री १५ दशमलव २ प्रतिशतले बढेको तथ्याङ्क छ । जुनमा मात्र अटो निर्यात गतवर्षको सोही अवधिको तुलनामा ११ दशमलव ८ प्रतिशतले बढेको तथ्याङ्क छ ।रासस/सिन्ह्वा

तपाईंको बिचार