Saturday, December 16, 2017

म्यागीका प्याकेट नष्ट गर्न नेस्लेले २० करोड रुपया खर्चियो

प्रकाशित मिति: 2015/07/09

असार २२, नयाँ दिल्ली (भारत) । स्वीस बहुराष्ट्रिय खाद्य तथा पेय पदार्थ कम्पनी नेस्लेको भारतस्थित एकाइले आफ्नो उत्पादन म्यागी तयारी चाउचाउका प्याकेट नष्ट गर्न करीब २० करोड रुपया खर्च गरेको बताइएको छ । त्यहाँका खाद्य नियामकहरूले म्यागी मानव उपभोगका लागि हानिकारक रहेको अनुसन्धानका क्रममा बताएका थिए । नेस्लेले म्यागीका प्याकेट जलाउन अम्बुजा सिमेण्टलाई सो रकम दिएको बताइएको छ । 

अम्बुजा सिमेण्टले महाराष्ट्रको चन्द्रपुरस्थित सिमेण्ट उत्पादन केन्द्रमा म्यागीका प्याकेट जलाएको र यसैबापत नेस्ले इण्डियाले उसलाई सो रकम दिएको भनिएको छ । ‘बजारबाट विक्री नभएर ल्याइएका म्यागीका प्योकट नष्ट गर्न हामीलाई अम्बुजा सिमेण्टले सघाइरहेको छ,’ नेस्ले इण्डियाका प्रवक्ताले भने । यद्यपि प्रवक्ताले अम्बुजा सिमेण्टको उत्पादन केन्द्रमा प्योकट नष्ट गर्दा लागेको खर्च भने यकीन गर्न मानेनन् । 

नष्ट गर्दा लागेको खर्चमा सामान बजारबाट ल्याएको र त्यसलाई नष्ट गर्ने स्थानसम्म लग्दा भएको ढुवानी र नष्ट गर्दा भएको खर्चजस्ता अतिरिक्त खर्चसमेत जोड्न बाँकी रहेको बताइएको छ । गत महीना भारतको केन्द्रीय खाद्य सुरक्षा नियामक (एफएसएसएआई)ले म्यागीमा मानव स्वास्थ्यका लागि हानिकारक तत्त्व रहेको बताएर यसको विक्रीवितरणमा प्रतिबन्ध लगाएपछि नेस्ले इण्डियाले ३ अर्ब २० करोड रुपयाबराबरको म्यागी नष्ट गर्ने तयारी गरिरहेको बताएको थियो । गत जुन ५ मा एफएसएसएआईले म्यागीमाथि प्रतिबन्ध लगाउँदै बजारबाट यसका सबै नौओटा भेराइटी फिर्ता ल्याउन नेस्लेलाई निर्देशन दिएको थियो । एजेन्सी

तपाईंको बिचार