Sunday, May 28, 2017  |    

ट्रम्पको निर्णयले नेपाल आउने सहयोग कटौती

प्रकाशित मिति: 2017/01/24

माघ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ ।

राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् ।
स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो ।  उसले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडीमार्फत मात्र ३ अर्ब डलर खर्च गर्छ ।
ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ ।

गर्भपतनको विरोध गर्नु रिपब्लिकन पार्टीको घोषित नीति नै हो । सन् १९८५ बाट सुरु भएको यो कार्यक्रममाथि हरेक रिपब्लिकन राष्ट्रपतिले प्रतिवन्ध लगाउँदै आएका छन् । जर्ज डब्लू बुसले लगाएको यस्तै प्रतिवन्धलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा हटाएका थिए ।
अहिले ट्रम्पले आफ्नो पहिलो कार्यकारी आदेशमध्ये एक यही विषयमा जारी गरेका छन् ।
राष्ट्रपति ट्रम्पको यो आदेशले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ । ‘सहयोग रोक्का हुनु भनेको प्रजनन श्वास्थ्यको क्षेत्रमा नेपाल सरकारले गरेको काममा हामीले सहयोग गर्न नसक्नु हो,’ संघका अध्यक्ष अमुसिंह सिजापतिको भनाई छ । परिवार नियोजन संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञले जागिर पनि गुमाउनेछन् ।
नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुवास श्रेष्ठका अनुसार २०१९ मार्चसम्मको सहयोगको सम्झौता भइसकेको छ । 

तपाईंको बिचार