Sunday, April 30, 2017  |    

दक्षिण कोरियाको एफडीआई आप्रवाहमा उच्च कमी

प्रकाशित मिति: 2015/07/09

असार २३, सोल (दक्षिण कोरिया) । सन् २०१५ को पहिलो अर्धवार्षिकीमा दक्षिण कोरियाको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आप्रवाहमा कमी आएको एक प्रतिवेदनले देखाएको छ । सो अवधिमा कोरियामा भएको विदेशी लगानीमा दोहोरो अङ्कको कमी आएको त्यहाँको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले बताएको छ । जनवरी–जुन अवधिमा कोरियामा ८ अर्ब ८७ करोड डलर एफडीआई भित्रिएको तथ्याङ्क छ । यो गतवर्षको सोही अवधिको तुलनामा १४ दशमलव २ प्रतिशतले कम रहेको मन्त्रालयले बताएको छ ।

सन् २०११ को पहिलो अर्धवार्षिकीयता कोरियामा एफडीआई आप्रवाह बढ्ने क्रममा थियो भने सन् २०१४ को पहिलो अर्धवार्षिकीमा १० अर्ब ३३ करोडको एफडीआई भित्रिएको थियो । यद्यपि, यो वर्ष भने एफडीआई आप्रवाहमा कमी आएको बताइएको छ । त्रैमासिक आधारमा भने एफडीआई आप्रवाहले वृद्घिको गति समातेको बताइएको छ । यो वर्षको दोस्रो त्रैमासमा कोरियामा ५ अर्ब ३२ करोड डलर एफडीआई भित्रिएको थियो । यो गतवर्षको तुलनामा शून्य दशमलव ८ प्रतिशत र अघिल्लो त्रैमासको तुलनामा ४९ दशमलव ९ प्रतिशतले बढी हो । रासस/सिन्ह्वा

तपाईंको बिचार