Monday, June 26, 2017  |    

आमा छोरीको रहस्यमय मृत्यु

प्रकाशित मिति: 2017/01/30

माघ १७, मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरीको रहस्मय मृत्यु भएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मृतक ३९ वर्षीया महिला उत्तरी मेलवर्नको पास्के भेलस्थित अस्कानासी एभिन्यूमा आफ्नो श्रीमान र छोरीसँग बस्ने गर्थिन् । उनीहरुका एक छिमेकीले आइतबार एक पुरुष अत्तालिदै बाहिर दौडिरहेको आफूले देखेको बताएका छन् । उनी मृतक महिलाका श्रीमान हुनसक्ने अनुमान गरिएको छ ।

ती १८ वर्षीय छिमेकी मोहम्मद असदले हेराल्ड सनसित भने, ‘उनी चुपचाप आएर घरभित्र पसे अनि एकछिनपछि चिच्याउँदै बाहिर निस्के ।’

उनले सो परिवारमा यसअघि कुनै झैंझगडा भएको आफूले थाहा नपाएको बताए । सोही दिन बेलुकी ५ः३० बजे प्रहरीको आपतकालिन टोली घटनास्थलमा आइपुगेको थियो ।

सिरले नाम गरेकी मृतक महिलाले नजिकै मिल्क बार चलाउने गर्थिन् । यो परिवार पाँच वर्षदेखि यहाँ बस्दै आएको थियो । शनिबार दिउँसो घरभित्रबाट मानिसहरु कराएको आवाज आएको छिमेकीहरुले बताएका छन् ।

मृत्युको खास कारण पत्ता लागेको छैन । प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । भिक्टोरियाका प्रहरी आयुक्त ग्राहम आस्टोनले यस घटनामा बाहिरी व्यक्ति जोडिएको अहिलेसम्म नपाइएको बताए । उनले घटनालाई भयानक दुखान्तको संज्ञा दिएका छन् ।

तपाईंको बिचार