Monday, June 26, 2017  |    

नाक उठाएरै पोखरीमा खसेका व्यक्तिले घण्टौंसम्म ज्यान बचाए

प्रकाशित मिति: 2017/02/10

माघ २८ । अष्ट्रेलियाका एक व्यक्तिले पोखरीमा खसेपछि निकै मुश्किलले आफ्नो ज्यान बचाएका छन् ।

४५ वर्षीय ड्यानियल मिलर, सिड्नीबाट ३ सय किलोमिटर टाढा आफ्नो नीजि जमिनमा खन्ने मेसिन चलाइरहेका बेला अचानक उनको तीन टन तौल भएको मेसिन पोखरीमा खस्यो र उनीपनि त्यहाँ फसे ।

त्यसपछि उनी घण्टौंसम्म आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहे । भाग्यवश उनी आफ्नो नाकलाई पानीमाथि राख्न सफल भए ।

पोखरीमा खसेका मिलरले त्यतिबेलासम्म चिच्याए जबसम्म उनको आवाज ५ सय मिटर टाढा रहेका एक छिमेकीले सुने । पानीमा फसेपछि उनले योगा मुद्राको प्रयोग गरे । ड्यानियल मिलरले डेली टेलिग्राफसँग भने, ‘म फसेको थिएँ । मैले आफ्नो हातलाई पानीमाथि आफ्नो टाउको राख्नका लागि प्रयोग गरें । मलाई लाग्छ यो कोब्रास्थित थियो ।’ उनले भने, ‘म योगी होइन तर तपाईंले यो स्पष्ट रुपमा भन्न सक्नुहुन्छ कि योगाले मेरो ज्यान बचायो ।’

सुरक्षाकर्मीहरुको अनुसार उनको जीवनको अग्नि परिक्षा दुई घण्टासम्म चल्यो तर मिलरकी श्रीमतीले फेसबुकमा यो पाँच घण्टासम्म चलेको बताइन् ।

पोखरीमा खसेपछिको पूरा समय आफूले श्रीमती र दुई साना बच्चालाई सम्झिएको र उनीहरु भएठाउँ कहिले पुग्ने होला भन्ने मात्र सोच आएको  उनले जानकारी दिए ।

पुलिस चिफ इन्स्पेक्टर निल स्टिफन्टका अनुसार मिलरको नाक र निधारमात्र पानीभन्दा माथि थियो । उनले एक समाचार एजेन्सीलाई भने, ‘मिलर भाग्यले मात्र जिउँदो भएका हुन् ।’

सुरक्षाकर्मीले मिलरलाई उक्त पोखरीबाट बाहिर निकाल्नका लागि फोहोर र केही पानी सुकाए । त्यसपछि मिलरलाई हेलिकोप्टरबाट नजिकैको शहर न्यूक्यासलको एक अस्पतालमा भर्ना गरियो जहाँ हाइपोथर्मिया र पिठ्युँमा भएको सामान्य चोटको उपचार गराइयो । –बीबीसी

तपाईंको बिचार