Monday, September 25, 2017

गोर्खा जनमुक्तिका कार्यकर्ता र सुरक्षाकर्मीको झडपपछि दार्जिलिङमा सेना परिचालन

प्रकाशित मिति: 2017/06/09

गोर्खा जनमुक्तिका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडपपछि दार्जिलिङमा सेना परिचालन गरिएको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ ।

गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । करिव ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएको थियो । राजभवनमा बैठक चलिरहँदा प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको इजाजतै नलिइ बैठक आयोजना गरिएको भन्दै मोर्चा अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना गरेका थिए । खासगरी बंगला भाषालाई राज्यका सबै स्कुलहरुमा अनिवार्य गरिने राज्य सरकारको निर्णयका कारण पनि दार्जिलिङका सर्वसाधारण आक्रोसित बनेका हुन् । 

बिहीबार सुरक्षाकर्मीबाट भएको ज्यादती विरुद्ध मोर्चाले आव्हान गरेको १२ घण्टे चक्का जामका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य सहरहरु प्रायः सुनसान बनेका छन् । यसैबीच राज्य सरकारले जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ ।  

तपाईंको बिचार