Sunday, April 30, 2017  |    

तेलको भाउ ६ महीनाकै न्यून बिन्दुमा

प्रकाशित मिति: 2015/08/04

तेलको भाउ ६ महीनाकै न्यून बिन्दुमा

साउन , लण्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा सोमवार कच्चा तेलको भाउ ६ महीनाकै न्यून बिन्दुमा ओर्लिएको छ । अत्यधिक आपूर्तिको समस्या थप बढेको र चीनको माग सुस्ताएको तथ्याङ्क सार्वजनिक भएपछि तेलको भाउ घटेको हो । योसँगै कच्चा तेलको मूल्य सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटयताकै सबैभन्दा खराब तेस्रो त्रैमासिक कमी बेहोर्ने क्रममा रहेको छ । गतहप्ता रोयटर्सको सर्वेक्षणले तेल निर्यातक देशहरूको सङ्गठन ओपेकको तेल उत्पादन जुलाईमा कीर्तिमानी उचाइमा पुगेको देखाएको थियो । साउदी अरेबिया र अन्य प्रमुख सदस्य राष्ट्रहरू बजार हिस्सा कायम गर्न मूल्य नघटाउने अडानमा छन् । ओपेकले उत्पादन घटाउने कुनै सङ्केत नमिलेकै समयमा इरानी उत्पादन बढ्ने स्थितिले समेत अत्यधिक आपूर्तिको चिन्ता बढाएको छ । ‘बजार फेरि पनि आपूर्तिको अवस्थामा केन्द्रित भएको जस्तै देखिएको छ...यसमा अर्को चुनौती के छ भने इरान तेल बजारमा फर्किंदैछ अनि ओपकले पनि उत्पादन सीमा घटाउने कुनै सङ्केत देखाएको छैन,’ सिड्नीस्थित सीएमसी मार्केट्सका प्रमुख बजार विश्लेषक रिक स्पुनरले भने । सोमवार लण्डनस्थित आईसीई फ्युचर्स एक्सचेञ्जमा बिहानी कारोबारमा ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ५० डलर ८५ सेण्टको न्यून बिन्दुमा आएको थियो, यो जुन ३० यताकै न्यून हो ।

यो समाचार तयार पार्दा नेपाली समयअनुसार साँझको ६ बजे यूरोपेली बेञ्चमार्क ५१ डलर १३ सेण्टमा किनबेच भएको थियो । तेस्रो त्रैमासको अहिलेसम्मको अवधिमा तेलको भाउ करीब २० प्रतिशतले घटिसकेको छ । यो सन् २००८ यताकै तीव्र तेस्रो त्रैमासिक कमी हो । उता, सोही अवधिमा न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इण्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ७१ सेण्ट कमी बेहोर्दै ४ महीनाकै न्यून बिन्दु ४६ डलर ३५ सेण्टमा आएको थियो । घरेलु र सीमापारको माग सुस्ताउँदा गत महीना चीनको म्यानुफ्याक्चरिङ गतिविधि वृद्धि सुस्त रहेको सरकारी सर्वेक्षणले देखाएको थियो । एजेन्सी

तपाईंको बिचार