Wednesday, July 26, 2017  |    

एशियाली शेयर बजार निराशाजनक

प्रकाशित मिति: 2015/08/04

साउन , शाङ्हाई (चीन) । सोमवार एशियाली शेयर बजारको अगष्टको शुरुआत निकै निराशाजनक बनेको छ । चीनको निराशाजनक तथ्याङ्कका कारण लगानीकर्ताको मनोबल प्रभावित बन्दा शेयर बजारमा कमी आएको हो । जुलाईमा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा उच्च सङ्कुचन आएको तथ्याङ्क सार्वजनिक भएपछि त्यसको प्रभाव एशियाली शेयर बजारमा समेत देखिएको हो । यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको सुस्ताउँदो वृद्घिप्रतिको चिन्ता झनै थपिएको विश्लेषण गरिएको छ । चीनको निजी तथा सरकारी दुवै सर्वेक्षणले कारखाना गतिविधि खस्किएको देखाएको छ ।

सोमवार चीनको बेञ्चमार्क शाङ्हाई कम्पोजिट इण्डेक्स १ दशमलव १ प्रतिशतले घटेर ३ हजार ६ सय २२ दशमलव ९१ अङ्कमा ओर्लिएको थियो । उता, हङकङको ≈याङ सेङ इण्डेक्स शून्य दशमलव ९ प्रतिशतले घटेर २४ हजार ४ सय ११ दशमलव ४२ अङ्कमा पुगेको छ । त्यस्तै अमेरिकी तलब वृद्घिको कमजोर तथ्याङ्कले पनि लगानीकर्ताको मनोबलमा कमी ल्याएको पाइएको छ । यो वर्षको दोस्रो त्रैमासमा अमेरिकाको श्रम कटौतीमा ३३ वर्षकै न्यून वृद्घि भएको बताइएको छ ।

त्यसैगरी सोमवार जापानी शेयर परिसूचक निक्केई शून्य दशमलव २ प्रतिशतले घटेर २० हजार ५ सय ४८ दशमलव ११ अङ्कमा आएको थियो भने अष्ट्रेलियाको एएसएक्स२०० शून्य दशमलव ४ प्रतिशतले घटेर ५ हजार ६ सय ७९ दशमलव ३० अङ्कमा आएको थियो । उता, जुनमा कोरियाको निर्यातमा भएको वृृद्घि र आयातमा आएको कमीका कारण चालू खाता बचत कीर्तिमानी उचाइमा पुगेको तथ्याङ्क हुँदाहुँदै पनि कोरियाली शेयरमूल्यमा भने कमी आएको छ । सो अवधिमा कोरियाली परिसूचक कोस्पी १ दशमलव १ प्रतिशतले घटेर २ हजार ८ दशमलव ४९ अङ्कमा आएको थियो । एजेन्सी

तपाईंको बिचार