Thursday, November 23, 2017

चिन र भारतबिचको दोक्लाम विवाद अन्त्य

प्रकाशित मिति: 2017/08/28

भदौ १२, काठमाडौं । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै चीन–भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले बताएको छ । 

‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’

दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुत रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’ आफ्ना सेना फिर्ता गर्ने कारवाही सुरु भइसकेको विज्ञप्तिमा उल्लेख छ । 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले पनि भारतीय सेना पछाडि हटेको पुष्टी गरेकी छन् । दैनिक प्रेस ब्रिफिङका क्रममा सोमबार हुआले आफ्ना सेना सीमाको नियमित गस्तिमा रहिरहने बताइन् । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा गत १ जुनमा चिनियाँ पक्षले भारतलाई सडक स्तरोन्नती सुरु गर्न लागेको जानकारी दिएको थियो । १६ जुनमा सडक स्तरोन्नती सुरु भयो र त्यसको १८ जुनमा भारतीय सेना त्यस क्षेत्रमा प्रवेश गर्‍यो । २९ जुलाईमा भुटानले आफ्नो भूमिमा चीनले सडक निर्माण थालेकामा भुटानले औपचारिक रूपमा आपत्ति जनायो ।

सोही विन्दुबाट सुरु भएको हो, त्रिपक्षीय विवाद पनि । द्विपक्षीय संवादबाट समस्याको समाधान गर्ने भारतीय प्रस्ताव चीनले आफ्नो भुमिबाट सेना फिर्ता नगरेसम्म स्वीकार्न नसकिने बताउँदै आएको थियो । गत १६ अगस्टमा भएको नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले दोक्लाम मुद्दामा चीनको अडान पूर्ण स्पष्ट र मजबुत रहेको बताएकी थिइन् । भारतीय पक्षले आफ्ना सेना र हतियार तत्काल हटाउनु पर्ने अडान दोहोर्‍याएकी थिइन् ।

तपाईंको बिचार