Friday, September 21, 2018

अब उत्तर कोरिया परिवर्तन हुँदै गएको हो

प्रकाशित मिति: 2017/12/24

एजेन्सी । उत्तर कोरियाका नेता किम जङ–अनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनु र उनका परिवारको फोटा नराखी अन्य दृश्य राख्नुलाई परिवर्तनको रुपमा हेरिएको छ । 

उनको जन्मदिन जनावरी ८ तारिख हो । तर टोकियो ब्रोडकास्टिङ सिस्टम (टीबीएस) मा देखाइएको सन् २०१८ को पात्रोमा उक्त दिनमा उनको जन्मदिनबारे केही नभनी सामान्य रुपमा उल्लेख गरिएको छ । उत्तर कोरियाका पूर्व शासकहरुको जन्मदिनलाई पनि पात्रोमा उल्लेख गरिन्छ र त्यो दिन सार्वजनिक बिदा दिएर मनाइन्छ ।

किम जङ–अनका बुबा किम जङ–इलको जन्मदिन प्रत्येक वर्ष फ्रेबअरी १६ तारिखलाई ‘शाइनिङ स्टार’ को रुपमा मनाइन्छ । त्यसैगरी किम जङ–अनका हजुरबुबा किम इल–सङको जन्मदिन एप्रिल ११ लाई सूर्यको दिनका रुपमा मनाइन्छ । किम जङ–अनका बुबा र हजुरबुबाको पालादेखि नै ती दिनहरुमा सार्वजनिक बिदा दिँदै आइएको छ । तर आश्चर्यजनक रुपमा किम जङ–अनको जन्मदिनका अवसरमा यो वर्ष भने त्यस्तो कुनै घोषणा गरिएको छैन् ।

उत्तर कोरियामा उनको जन्मदिनबारे त्यतिबेला थाहा भयो जब सन् २०१४ मा बास्केट बल खेलाडी डेनिस रोडम्यानले प्योङयाङमा एउटा प्रतियोगितापछि उनलाई शुभकामना दिँदै ‘ह्यापी बर्थडे’ गीत गाएका थिए । सन् २०१८ को पात्रो उत्तर कोरियाका होटल तथा पुस्तक पसलका साथै विदेशस्थित केही उत्तर कोरियाली रेष्टुराँहरुमा पनि उपलब्ध छन् ।

नयाँ पात्रोमा किम जङ–अनको जन्मदिनबारे उल्लेख नहुनु बाहेक अर्को परिवर्तन पनि देखिएको छ । पहिला पहिला उत्तर कोरियाली पात्रोहरु त्यहाँका सेना र किम जङ–अनको परिवारका सदस्यहरुका तस्वीरले भरिएका हुन्थे । तर यस वर्षको पात्रोमा उत्तर कोरियाली उत्पादन, त्यहाँका सुन्दर दृश्य तथा विभिन्न परिकारका खानाको तस्वीरहरु समावेश गरिएका छन् । त्यसो गरिनुलाई ‘प्रचारबाजी’ गरिने पहिलाको जस्तो पात्रोको विक्रीमा कमी आएको रुपमा अर्थ्याइएको छ ।

तपाईंको बिचार