Monday, July 22, 2019

सिरियामा युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

प्रकाशित मिति: 2018/02/28

सिरियाको राजधानी दमासकसको नजिकै रहेको गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ । 

उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् । उनीहरुको उद्धारका लागि कुनै पहल सुरु भएको छैन । उनीलाई आवश्यक मानवीय सहायता पुर्‍याउन पनि सकिएको छैन । दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरेको थियो ।

सुरक्षा परिषदमा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले केही दिनमात्र अघि आग्रह गरेका थिए । महासचिव गुथ्रेसले युद्धले यहाँका नागरिकलाई आक्रान्त बनाएकोले यो अवस्थाको अन्त्यगरी सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका थिए ।

तर राष्ट्रसंघको यो प्रस्ताव बमोजिम यहाँ युद्धविरामको लागि तयारी भने भएको छैन । बरु मंगलबारदेखि यहाँका विद्रोहीहरुमाथिको हमला दिनमा ५ घन्टाका लागि मात्र रोकिएको सिरियाली सेनाको भनाई आएको छ । विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उनको यस्तो टिप्पणी आएको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत शनिबार सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत एक हप्ताभन्दा लामो समयदेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ । यस विषयमा सिरियाको कुनै प्रतिक्रिया आएको छैन । हाल सिरियामा जारी हवाई हमलाको भने विश्वव्यापी निन्दा भएको छ । –रासस÷एएफपी

तपाईंको बिचार