Wednesday, June 26, 2019

मालदिभ्समाथि भारतको अघोषित नाकाबन्दी

प्रकाशित मिति: 2018/06/25

काठमाडौं । दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम गर्ने भारतीय स्वार्थको मार मालदिभ्समा देखिएको छ । आफ्नो स्वार्थपूर्तीका लागि छिमेकी देशहरु माथि नाकाबन्दी लगाउँदै आएको भारतले पछिल्लो समय कुटनीतिक टकराबसँगै मालदिभ्समाथि अघोषित नाकाबन्दी गरेको छ । 

नेपालमा २०७२ मा संविधान जारी भएसँगै अघोषित रुपमा नाकाबन्दी लगाएर आफ्नो स्वार्थपूर्तीका लागि दबाब दिएको थियो भारतले । त्यतिवेला नेपालमा भारत विरोधी सेन्टीमेन्ट बढ्नु तथा नेपालले चीनसँग सम्बन्ध विस्तार गरेको थियो । भारतले नेपालमाथि लगाएको नाकाबन्दीको भारतमै समेत विरोध भएपछि नाकाबन्दी खोल्न बाध्य भएको थियो।

पछिल्लो समय भारतले अर्को छिमेकी मालदिभ्समाथि समेत त्यस्तै उपाय अपनाउन थालेको हो । भारतले मालदिभ्समाथि गर्दै आएको अत्यावश्यक सामाग्रीको आपूर्तीमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले अत्यावश्यक खाद्य सामाग्रीहरु चामल, आलु, प्याज तथा दालहरुको आपूर्तीमा आधा तथा त्यो भन्दा बढी परिणाममा रोक लगाएको भारतीय पत्रिकाले उल्लेख छ ।

पछिल्लो समय मालेमा बेइजिङको प्रभाव बढ्दै गएसँगै परम्परागत सम्बन्ध भएका भारत र मालदिभ्सबीच सम्बन्ध चिसिँदै गएको छ । पछिल्लो दुई वर्षयता मालदिभ्समा राजनीतिक अस्थिरता कायम रहँदै आएको छ । 
पछिल्लो राजनीतिक नेतृत्व चिनियाँ लगानी देशमा भित्र्याउनका लागि चीनसँग सम्बन्ध बढाउँदै जाँदा भारतले कुटनीतिक रुपमा समेत मालदिभ्समाथि दबाब दिँदै आएको छ ।  भारतले सन् १९८१ मा मालदभ्सिँग व्यापार सन्धीमा हस्ताक्षर गरेको थियो । दक्षिण एसियाका सानो टापु राष्ट्र मालदिभ्समा भारतले खाद्यय सामाग्रीसहितका अत्यावश्यक सामाग्रीको आपूर्ती गर्दै आएको थियो । 

पछिल्लो फेब्रअरीमा मालदिभ्सले भारतले प्रस्ताव गरेको संयुक्त नेभल एक्सर्साइज ‘मिलान’लाई अस्वीकार गरेको थियो । सो अभ्यासमा १६ राष्ट्रले सहभागिता जनाएका थिए । भारतले आयोजना गरेको संयुक्त जल सैन्य अभ्यास चीनको हिन्द महासागरमा चिनियाँ उपस्थितिलाई रोक्न तथा साझेदारी बढाउनका लागि थियो । 
यही समयदेखि भारत र मालदिभ्सको सम्बन्ध थप चिसिँदै गएको थियो । त्यस्तै त्यतिवेला मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामीनले देशमा संकटकाल घोषणा गरे । उनले भारतलाई आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेम नगर्न समेत चेतावनी दिएका थिए । त्यस्तै गत महिना मात्र राष्ट्रपति यामिन निकट सांसदलाई भारत प्रवेशमा रोक लगाइएको थियो । त्यस्तै मालदिभ्सले यसअघि सन् २०१३ मा भारतले दिएको दुई वटा हेलिकोप्टर फिर्ता लैजान भारतले भनेको थियो । 

त्यस्तै मालदिभ्सले २०००  बढी भारतीय कामदारको वर्कपर्मिट नवीकरण गरेको थिएन। यहाँ करिब २५ हजार भारतीय कामदार काम गर्दै आएको बताइन्छ। यसैको रिस फेर्न भारतले मालदिभ्स माथि अघोषित रुपमा नाकाबन्दी सुरु गरेको हो। 

गत वर्ष डिसेम्बर ८ मा मालदिभ्सले चीनसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए)मा हस्ताक्षर गरेको थियो । चीन भ्रमणमा गएका राष्ट्रपति यामिनले चीनसँग सम्झौता गरे पनि भारतले आफ्नो सामरिक सुरक्षामा चुनौती थपिएको भन्दै विरोध गरेको थियो । त्यस्तै मालदिभ्सले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको मेरिनटाइम सिल्क रोडमा समेत जोडिएको थियो । एफटीएसँगै चीन र मालदिभ्सले ९५ प्रतिशत सामाग्रीमा लाग्दै आएको आपूर्ती कर समेत हटाएका थिए । त्यस्तै चीनले त्यहाको सेवा बजार, फाइनान्स, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा समेत सहयोग गर्ने घोषणा गरेको थियो । –एजेन्सी 

तपाईंको बिचार