Sunday, May 28, 2017  |    

‘ओसामा बिन लादेन पनि महात्मा गान्धीबाट प्रेरित थिए’

प्रकाशित मिति: 2015/08/19

क्यालिफोर्निया, भदौ २ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ का पूर्व प्रमुख ओसामा बिन लादेनले कुनै समय अफगानिस्तानको कान्दाहारलाई आफ्नो अड्डा बनाएका थिए । सन् १९९७ देखि कान्दाहारमा बस्दै आएका लादेन अमेरिकाको हमलापछि त्यहाँबाट पलायन भएका थिए भने अलकायदाले रातारात आफ्ना कयौं अड्डा खाली गर्नुपरेको थियो ।

यसरी खाली गरिएको भवनमध्ये एउटा भवन अफगानिस्तानको तत्कालिन शासक तालिवानको विदेश मन्त्रालय रहेकै भवन नजिकै थियो । उक्त भवनमा अल कायदाका शीर्ष पदाधिकारीहरुको भेटघाट हुन्थ्यो ।

अमेरिकी हमलापछि सो भवनमा अल कायदा नेताहरुको आउ–जाउ बन्द भयो । सो भवनबाट एक अफगान परिवारले १,५०० अडियो क्यासेट फेला पारेका थिए । तालिवान शासन अन्त्य भएपछि सो परिवारका एक सदस्यले ती क्यासेट एउटा ‘म्यूजिक पसल’ मा लगे । उनी ती क्यासेटमा आधुनिक पप गीत भर्न चाहन्थे, जो तालिवान शासनका क्रममा बन्देज गरिएको थियो ।

अमेरिकी टेलिभिजन च्यानल ‘सीएनएन’ का एक क्यामेराम्यानले ती अडियो क्यासेटबारे जानकारी पाएपछि पसलेलाई आफू ती क्यासेट खरिद गर्न इच्छुक रहेको बताए । अन्ततः उनी ती १,५०० क्यासेट हासिल गर्न सफल भए । जुन आशंकाका साथ उनी ती क्यासेट लिन चाहन्थे, उनको आशंका सही साबित भयो । ती क्यासेटमा अल कायदाबारे अहम् जानकारी पाइयो ।

म्यासाच्यूसेट्सको विलियम कलेजमा ‘अफगान मिडिया प्रोजेक्ट’ अन्तर्गत ती क्यासेटको विश्लेषण गर्ने जिम्मा फ्ल्याग मिलरलाई दिइयो, जो ‘युनिभर्सिटी अफ क्यालिफोर्निया’ मा अरब साहित्य र संस्कृतिका विशेषज्ञ हुन् । फेला परेका ती सबै क्यासेट सुन्ने उनी एकमात्र व्यक्ति पनि हुन् ।

सन् २००३ मा धुलाम्य दुई बाकसमा ती क्यासेट आफूले पाउँदाको अवस्था स्मरण गर्दै उनी भन्छन्, ‘म तीन दिनसम्म ती क्यासेटको महत्व के होला भन्ने सोचेर नै सुत्न सकिनँ ।’

क्यासेट पाएको एक दशकपछि उनले ती क्यासेटमा आधारित एक पुस्तकसमेत लेखे ।

ती क्यासेट सन् १९६० देखि सन् २००१ सम्मका थिए । तिनमा दुई सयभन्दा बढी मानिसको आवाज थिए, जसमा ओसामा बिन लादेनको पनि आवाज थियो ।

लादेनको आवाज पहिलो पटक सन् १९८७ मा रेकर्ड भएको थियो जब अफगान–अरब मुजाहिद्दीन र सोभियत स्पेत्नेज कमाण्डोबीच युद्ध चलिरहेको थियो ।
मिलरका अनुसार लादेन एक सशक्त चरमपन्थीका रुपमा आफ्नो छवि बनाउन चाहन्थे तर यो त्यति सजिलो थिएन । लादेन त्यतिबेला जवान थिए र डिजाइनर बुट लगाउँथे ।

ती क्यासेटमा सन् १९८० को दशकको अन्त्य र १९९० को दशकको आरम्भतिर साउदी अरबमा ओसामा बिन लादेनले गरेको भाषण पनि सामेल छ । मिलरले भने, ‘लादेनको भाषणमा रोचक कुरा त यो पाइएको छ कि उनले अरब प्रायद्वीपलाई खतरा छ भनेका छन् तर उनले अमेरिका वा पश्चिमा मुलुकलाई मूख्य दुश्मन भनेका छैनन्, बरु अन्य मुसलमानबाटै अरब देशलाई खतरा रहेको उनले बताएका छन् ।’

लादेनले सुरुमा दुश्मन नै नठानेका अमेरिकाबाटै उनी मारिए । तर ‘टाढाको दुश्मन’ (अमेरिका) बारे लादेनले सुरुमा उच्चारण नै गरेका थिएनन् । मिलरले भने, ‘सबैभन्दा पहिला लादेन एक शिया थिए, उनी इराकको बाथ पार्टीका समर्थक थिए, उनी कम्यूनिस्ट र मिश्रको नासिर पार्टीका पनि समर्थक थिए । सच्चा मुसलमान को हो भन्ने विषयलाई उनी जेहादको प्रश्न बनाउन चाहन्थे ।’

ती क्यासेटमा लादेनले अप्रत्याशित रुपमा महात्मा गान्धीको नाम पनि लिएका छन् । सेप्टेम्बर १९९३ मा एक भाषणका क्रममा लादेनले महात्मा गान्धीलाई आफ्नो प्रेरणाको स्रोत भनेका छन् । सोही भाषणमा उनले पहिलो पटक अमेरिका विरुद्ध आफूलाई उभ्याएको पाइन्छ, जसमा उनले अमेरिकी सामान वहिष्कार गर्न अपील गरेका छन् ।

महात्मा गान्धीको नेतृत्वमा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको प्रसंग उल्लेख गर्दै लादेनले आफ्नो भाषणमा भनेका छन्, ‘ग्रेट ब्रिटेनको बारेमा एकछिन सोच्नुहोस्, जो यति विशाल साम्राज्य थियो र जुन साम्राज्यमा कहिल्यै सूर्य अस्त हुँदैन भनिन्थ्यो ।’

लादेनले गान्धीलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भनेका छन्, ‘जब एक हिन्दु गान्धीले बेलायतमा बनेका सामान वहिष्कार गरे, आफ्नो सबैभन्दा ठूलो उपनिवेशबाट पछि हट्न बेलायत बाध्य भयो । हामीले आज अमेरिकाविरुद्ध पनि यही गर्नुछ ।’

मिलर भन्छन्, ‘अमेरिकी दबाबमा सन् १९९४ मा लादेनको साउदी नागरिकता खोसियो, त्यसपछि उनको नीजि सम्पत्ति पनि खोसियो, जसबाट उनी अमेरिकाविरुद्ध बढी आक्रामक भए ।’ (बीबीसी)

 

तपाईंको बिचार