Tuesday, October 22, 2019

लाओसमा १३१ जना अझै बेपत्ता रहेको प्रधानमन्त्रीको भनाई

प्रकाशित मिति: 2018/07/26

लाओस । लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्कीएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताउनुभएको छ । देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर बगाएका वा बेपत्ता भएकामध्ये १३१ जनाको अवस्था अझै थाहा पाउन नसकिएको उहाँले बुधबार बताउनुभएको हो । 

निर्माणाधीन अवस्थामा रहेको छेपिन छे नाम नोय हाइड्रो पावरको बाँध यसै हप्ताको शुरुमा भत्कीएको थियो । बाँध भत्कीएपछि सानाम्याक्सी जिल्लाका सात वटा गाउँ प्रभावित भएको र सयौँ विस्थापित भएको अधिकारीहरूले बताएका छन् । घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म एकिन नभए पनि लाओसको समाचार संस्थाले २६ जनाको मृत्यु भएको पुष्टी भएको जनाएको छ । 

प्रधानमन्त्री सिसौलिथले विस्थापित भएकाहरूलाई छानासहितको बासस्थानमा व्यवस्थापनको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस घटनाका कारण घरबारबिहीन हुनेहरूको संख्या कम्तीमा तीन हजार ६० पुगेको छ भने १३१ जना अझै बेपत्ता रहेका छन् ।” 

बर्षापछि बाँध भत्कीएर आएको बाढी अझै पनि आइरहेको र अरू पाँचदेखि छ गाउँका बासिन्दा अझै पनि प्रभावित भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । घटनाबाट पीडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कम्बोडियाको सीमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्कीएको अधिकारीहरूले जनाएका छन् । (सिन्ह्वा)

तपाईंको बिचार