Saturday, October 19, 2019

मोदीद्वारा बाढी प्रभावितलाई राहतको घोषणा

प्रकाशित मिति: 2018/08/18
केरला । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ ।
प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाको दरले राहत रकम दिने घोषणा गर्नुभएको हो ।
उहाँले बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार भा।रु उपलब्ध गराउने पनि बताउनुभएको छ ।
उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ ।
प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।
केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समिक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट सो सहायता रकम दिने घोषणा गर्नुभएको हो ।
केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
शताब्दीकै खराब भनिएको बाढीका कारण केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन् ।
उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको उनीहरुको भनाइ छ । उद्धारकर्ताले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् ।
बाढी पहिरोका कारण केरला राज्यमा अहिलेसम्म दुई लाख मानिस आफ्नो घर छोडेर शिविरमा बसिरहेका छन् ।
एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन तीन सयभन्दा बढी डुङ्गा पनि त्यहाँ प्रयोग गरिएका छन् ।
भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस बर्षको बर्षायाम सुरु भएदेखि अहिले सम्म देशभर नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

तपाईंको बिचार