Saturday, February 16, 2019

जापानका प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद्‍मा हेरफेर, रक्षामन्त्रीमा ताकेसी इवाया

प्रकाशित मिति: 2018/10/02

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन्। मन्त्रिपरिषदका अन्य सदस्यहरूमा खासै हेरफेर गरिएको छैन। मुख्य सचिव योशीहिदे सुगाले मन्त्रिपरिषदको नयाँ नाम सार्वजनिक गरेका थिए।

जापानका विदेशमन्त्रीमा तारो कोनो र अर्थमन्त्रीमा तारो आसो यथावत रहेका छन्। सन् २०१७ देखि रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका इचुनोरी ओनोदेराको स्थानमा ६१ वर्षीय ताकेसी इवाया नियुक्त भएका छन्। वरिष्ट राजनीतिज्ञ समेत रहेका ताकेसीले यसअघि रक्षा तथा विदेश उपमन्त्रीको रुपमा जिम्मेवारी वहन गरिसकेका छन्।

गत महिना लिबरल डेमोक्रेटिक पार्टीको पुनः अध्यक्ष निर्वाचित भएपछि प्रधानमन्त्री आबेले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। प्रधानमन्त्री आबेले जापानको पुरानो संविधानमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“प्रधानमन्त्री आबेले चुनौती होइन सरकारमा स्थायित्व खोज्नु भएको देखिन्छ,” निहोन विश्वविद्यालयका प्राध्यापक तोमोआकी इवाईले बताए। पुनर्गठित मन्त्रिपरिषदमा सातसुकी कातायामा एक मात्र महिला मन्त्रीका रुपमा नियुक्त भएकी छन्। यसअघि दुईजना महिला मन्त्रिमण्डलमा समावेश थिए।

 

तपाईंको बिचार