Saturday, February 23, 2019

लामो उडान गर्ने होडबाजी

प्रकाशित मिति: 2018/10/14

लन्डन । बिहीबार सिंगापुरदेखि न्यूयोर्कसम्म ननस्टम उडान सेवा सुरु भएपछि यसले सबैभन्दा लामो रुटमा ननस्टम उडान भर्ने यसअघिको रेडर्क तोडेको छ । सिंगापुर एयरलाइन्सले ५ वर्षपछि फेरि सिंगापुरदेखि न्युयोर्कसम्म उडान सुरु गरेको छ ।

यसअघि यो उडान धेरै महँगो भएको भन्दै कम्पनीले सेवा बन्द गरेको थियो ।

यो उडानले १५ हजार किलोमिटरभन्दा बढी दूरी तय गर्छ र १९ घण्टासम्म लगातार जहाज उड्छ । 
बिहीबार सिंगापुर एयरलाइन्स सबैभन्दा लामो रुटमा सेवा दिने एयरलाइन्स बनेको छ । यसअघि क्वान्टासले पर्थदेखि लन्डनसम्मको १७ घण्टे हवाई सेवा दिइरहेको थियो । कतार एयरवेजले पनि न्युजिल्यान्डको अकल्यान्डदेखि दोहासम्म लगातार साढे सत्र घण्टाको उडान दिइरहेको छ ।
सिंगापुर एयरलाइन्सले आफ्नो सबैभन्दा लामो उडानका लागि टिकट किन्नेहरूको संख्या अधिक रहेको बताएको छ । एकै पटक यात्रा गर्दा समय कम लाग्ने भएकाले यात्रु आकर्षित भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी उडानका लागि बिजनेस क्लासको टिकट बुक भइसकेको जनाएको छ । कम मूल्यमा उड्न पाइने इकोनोमी सिट पनि थोरै मात्र बाँकी रहेको कम्पनीले जनाएको छ । एयरलाइन्सले यो रुटमा इकोनोमी बुकिङ नगर्ने योजना बनाएको छ ।

बिजनेस क्लासको टिकट काटेका यात्रुहरूले आफूले भनेको समयमा २ पटक खाना पाउनेछन् भने त्यसबीचमा ‘रिफ्रेसमेन्ट’ का रूपमा हल्का खानाहरू पाउनेछन् । साथै बिजनेस क्लासका यात्रुहरूलाई सुत्नका लागि बिछयौना पनि हुनेछ ।

यो रुटका लागि सिंगापुर एयरलाइन्सले प्रयोग गरेको नयाँ एयरबसले १६१ यात्रु ओसार्न सक्छ । तीमध्ये ६७ वटा बिजनेस क्लास सिट छन् भने बाँकी ९४ भने प्रिमियम इकोनोमी क्लास छन् ।

बिहीबारको जहाजमा उडान भर्दै गरेको उड्डयनविज्ञ जियोफ्री थोमस इकोनोमी क्लासका टिकट कम हुनुलाई सामान्य मान्छन् । ‘उनीहरूले उच्च स्तरको सेवा दिइरहेका छन् ।’ सिंगापुरदेखि न्युयोर्कसम्मको उडानले दुई ठूला व्यापारिक सहर जोड्ने भएकाले यसमा यात्रुको कमी नहुने उनको ठम्याइ छ ।


एयरलाइन्सको रेटिङ गर्ने वेबसाइट एयरलाइनरेटिङस डटकमका सम्पादक थोमसले यसअघि पनि लामो रुटमा चल्ने उडानको उद्घाटनमा सहभागी भइसकेका छन् । उनी यही वर्ष सुरु भएको क्वान्टस एयरलाइन्सको पर्थदेखि लन्डनको उद्घाटन उडानमा चढेका थिए ।

क्वान्टस एयरलाइन्सले लगातार २० घण्टा उडान भर्न सक्ने जहाज निर्माणका लागि निर्माणकर्ता एयरबस र बोइङसँग छलफल गरिरहेको छ । अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमानले अस्ट्रेलियादेखि उत्तर अमेरिकासम्म ननस्टप उडान भर्ने योजना बनाएको छ ।

सिंगापुर एयरलाइन्सले लामो दूरीको उडान भर्न प्रयोग गरेको एयरबस दुई इन्जिन भएको जहाज हो । यो बोइङको पुरानो ७७७ जहाजलाई प्रतिस्थापनको उद्देश्यले निर्माण गरिएको हो । यसले बोइङको ७७७ भन्दा २० देखि ३० प्रतिशत इन्धन बचत गर्छ ।

सिंगापुर एयरलाइन्सले यस्तै लामो रुटको उडान भर्न सन् २००४ मा चांगीदेखि नेवार्कसम्म सेवा सुरु गरेको थियो । तर, २०१३ मा बढदो खर्चका कारण एयरलाइन्सले यो सेवा बन्द गर्‍यो । उसले प्रयोग गरेको विमान र रुटको खर्चका कारण सेवा बन्द गर्नुपरेको थियो ।

अन्य धेरै एयरलाइन्सले लामो रुटका लागि अहिले ए ३५०–९०० एस विमान प्रयोग गरिरहेका छन् । यसमा ठूलो झयाल, अग्लो सिलिङ हुने भएकाले यात्रुलाई पनि सजिलो हुन्छ । तर, सिंगापुर एयरलाइन्सले प्रयोग गरेको एयरबसको क्षमता भने अहिले प्रयोगमा रहेको विमानको भन्दा बढी छ ।

यो विमान लगातार २० घण्टा उड्न सक्छ । उड्डयनविज्ञहरू यस्ता विमानको भविष्य राम्रो रहेको बताउँछन् । मानिसहरू ट्रान्जिट फेरिफेरि भन्दा लगातार उडेर आफ्नो गन्तव्यमा पुग्न चाहने भएकाले लामो रुटमा ननस्टप सेवा दिने उडानको भविष्य राम्रो रहेको विज्ञहरूको तर्क छ । (एजेन्सी)

तपाईंको बिचार