Wednesday, June 26, 2019

ओबामा, क्लिन्टनलगायतलाई पठाइएको बमका बारेमा अनुसन्धान सुरु

प्रकाशित मिति: 2018/10/26

एजेन्सी  ।  संयुक्तराज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्राटिक पार्टीका नेता, अमेरिकी टेलिभिजन संस्था सिएनएनको कार्यालयमा पठाइएका पाइप बमका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा अमेरिकी सुरक्षा व्यवस्थामा समेत चुनौती देखिएका छन्। केही समयदेखि यी सबै उच्च पदस्थ व्यक्तित्वलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले घृणाको नजरले हेर्ने गरेका छन्। यद्यपि बमका बारेमा अनुसन्धान सुरु भइसकेको अमेरिकी संघीय अनुसन्धान व्युरो (एफबीआई) ले जनाएको छ।  

आगामी नोभेम्बर ६ मा हुन लागेको मध्यावधि निर्वाचनअघि हिंसालाई प्रोत्साहित गर्ने गरी भएको यस्तो कार्यको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निन्दा गरेका छन्। टेलिभिजन च्यानल सिएनएनको कार्यालयसमेत रहेको न्यूयोर्कस्थित टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि समाचारकक्ष खाली गरिएको थियो। यसअघि गत सोमबार पनि उदारवादी परोपकारी एवं अर्बपति जर्ज सोरोसको न्यूयोर्कस्थित निवासमा बम भेटिएको थियो।

पूर्वअमेरिकी वरिष्ट अधिकारीहरूलाई पठाइने चिठी तथा पार्सलहरू नियमित रूपमा जाँच हुने गरेको र त्यसैक्रममा प्राविधिकहरूले शंकास्पद विस्फोटक पदार्थहरू फेला पारेको समाचारमा जनाइएको छ। यस्ता शंकास्पद वस्तुको कम्तीमा सात पोका भेटिएको छ। अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले जारी गरेको एक विज्ञप्तिका अनुसार २३ अक्टोबरमा भेटिएको त्यस्तो वस्तु श्रीमती क्लिन्टनको नाममा थियो।

विज्ञप्तिका अनुसार त्यसपछि अक्टोबर २४ को बिहान दोस्रो त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको थियो। अझैसम्म कसैले घटनाको जिम्मेवारी लिएको छैन र यस घटनासँग सम्बन्धित कोही पनि पक्राउ परेका छैनन्।

 

तपाईंको बिचार