Thursday, October 17, 2019

कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या २०० नाघ्यो

प्रकाशित मिति: 2018/11/11

प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या २०० नाघेको छ ।पछिल्लो पटक फैलिएको इबोला महामारिका कारण कंगोको ब्यान्डा शहर, किभु क्षेत्रको बेनी शहर सबैभन्दा बढी प्रभावित भएको छ ।

चार वर्षअघि महामारीका रूपमा अफ्रिकी मुलुकहरूमा देखापरेको इबोला संक्रमणका बिरामी कंगोमा पुनः देखापरेसँगै  यसको प्रकोप बढ्न सक्ने त्रास बढेको छ ।इबोलाविरुद्धको खोप कार्यक्रम अन्तर्गत अहिलेसम्म झण्डै २५ हजारलाई खोप लगाइएको त्यहाँ तैनाथ स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।विश्व स्वास्थ्य संगठनले परीक्षणका लागि चार हजार इबोलाको खोप बुधबार  कंगो पु¥याइएको जानकारी दिएको छ ।

वर्षौँदेखि गृहयुद्ध तथा राजनीतिक अस्थिरताका कारण समस्यामा रहेको कंगोमा इबोलाविरुद्ध जुटेका स्वास्थ्यकर्मीलाई सशस्त्र बिद्रोहीले अवरोध गरिरहेका छन् । गएको सेप्टेम्बरमा बिद्रोहीले आक्रमण गरेपछि बेनीमा खोप कार्यक्रम तत्कालका लागि रोकिएको थियो ।

पछिल्लो पटक गएको जुलाईमा इबोलाको महामारी सुरु भएको छ । यो कंगोमा सन् १९७६ यता फैलिएको १० औँ इबोला महामारी हो । पछिल्लो महामारीका कारण अहिलेसम्म २०१ जनाको ज्यान गएको पुष्टि भएको छ ।

इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कंगोका अधिकारीले जानकारी दिएका छन् ।

तपाईंको बिचार