Thursday, June 27, 2019

हवाई यात्रु ८ अर्ब २० करोड, जीडीपीमा ५५ खर्ब डलर योगदान

प्रकाशित मिति: 2018/12/05

जेनेभा । इन्टरनेसनल एयर ट्रान्स्पोर्ट एसोसिएसन (आएटा) ले आगामी दुई दशकमा हवाई यात्रुको संख्या दोब्बरले बढेर ८ अर्बभन्दा बढी पुग्ने तथ्यांक प्रक्षेपण गरेको छ ।

संसारका २ सय ९० अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जसले कूल हवाई उडानको ८२ प्रतिशत हिस्सा ओगट्छन्, तिनको छाता संगठन आएटाले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०३७ सम्ममा हवाई यात्रुको संख्या ८ अर्ब २० करोड पुग्नेछ ।

आएटाले ‘२० वर्षे हवाई यात्रु प्रक्षेपण’ नाम दिएर सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार वार्षिक ३ दशमलव ५ प्रतिशतका दरले हवाई यात्रु वृद्धि हुने र दुई दशकभित्र दोब्बर हुने छ । यसबाट लगभग १० करोड नयाँ रोजगारी सिर्जना हुने र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५५ खर्ब अमेरिकी डलरबराबरको योगदान पुग्ने निश्चित छ ।

“उड्डयन क्षेत्र फराकिलो हुन थालेको छ र यसबाट संसारका लागि ठूलो परिमाणको फाइदा सिर्जना भइरहेको छ । यसको अर्थ दुई दशकभित्र थप १० करोड नयाँ रोजगारी सिर्जना हुने छ,” आएटाका महानिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्ड्रे डे जुनिएकले भनेका छन्, “यो वर्षको हाम्रो प्रक्षेपणमा दुईथरी महत्वपूर्ण बुँदा समेटिएका छन् । पहिलो, हवाई यात्रुको संख्या पूर्वीय देशतिर बढिरहेको छ र दोस्रो, उड्डयन क्षेत्रको फाइदासँगै सम्बन्धित देशले नियन्त्रित र कडा नियम ल्याए भने नकारात्मक प्रभाव पर्ने अवस्था आउने छ ।”

आएटाका अनुसार प्रक्षेपण अवधिमा वृद्धि हुने कूल यात्रुको आधा एसिया प्रशान्त क्षेत्र एक्लैले समेट्ने छ । यस क्षेत्रमा जारी उच्च दरको आर्थिक वृद्धि, घरेलु आयामा सुधार तथा उपयुक्त जनसंख्यालगायत कारण उड्डयन बजार बढिरहेको हो । सन् २०२० को मध्यसम्ममा अमेरिकालाई उछिन्दै चीन संसारकै सबैभन्दा ठूलो उड्डयन बजारका रूपमा स्थापित हुने आएटाको अनुमान छ ।

अमेरिकालाई पछ्याउँदै भारत संसारकै तेस्रो ठूलो उड्डयन बजार बन्ने छ । २०२४ भित्र भारतले बेलायतलाई पछाडि पार्ने छ । सँगसँगै इन्डोनेसिया विश्वकै १०औं ठूलो उड्डयन बजारबाट २०३० भित्र एकैपल्ट चौथो ठूलो बजार बन्ने आएटाको प्रक्षेपण छ । थाइल्यान्डले २०३० भित्र इटालीलाई पछाडि पारेर १०औं ठूलो बजार बन्ने निश्चित छ ।

आएटाको प्रक्षेपणअनुसार दुई दशकभित्र चीनमा १ अर्ब नयाँ यात्रु थपिएर १ अर्ब ६० करोड पुग्नेछन् । त्यस्तै अमेरिकामा ४८ करोड १० लाख थपिएर १ अर्ब ३० करोड, भारतमा ४१ करोड ४० लाख थपिएर ५७ करोड २० लाख, इन्डोनेसियामा २८ करोड २० लाख थपिएर ४१ करोड २० लाख र थाइल्यान्डमा ११ करोड ६० लाख थपिएर २१ करोड ४० लाख यात्रु पुग्नेछन् ।

एसिया प्रशान्त क्षेत्रका हवाई रुट (दुईतर्फी) बाट वार्षिक थप २ अर्ब ३५ करोड यात्रु थपिएर ३ अर्ब ९० करोड पुग्ने प्रक्षेपणमा उल्लेख छ । यो भनेको वार्षिक ४ दशमलव ८ प्रतिशतको वृद्धि दर हो जसलाई अफ्रिका र मध्यपूर्वले पछ्याउने छन् ।

त्यसैगरी उत्तर अमेरिकामा दुई दशकभित्र वार्षिक २ दशमलव ४ प्रतिशतको वृद्धि दरबाट १ अर्ब ४० करोड यात्रु पुग्नेछन् । यो भनेको ५२ करोड ७० लाख नयाँ यात्रु हुन् । युरोपमा भने वार्षिक २ प्रतिशतको वृद्धि हुँदै ६१ करोड १० लाख नयाँ यात्रु थपिएर कूल १ अर्ब ९० करोड पुग्नेछन् ।

ल्याटिन अमेरिकामा वार्षिक ३ दशमलव ६ प्रतिशतको सुधार हुँदै कूल ७३ करोड १० लाख यात्रु पुग्नेछन् र यसमा ३७ करोड १० लाख नयाँ यात्रु हुनेछन् । मध्यपूर्वमा भने ४ दशमलव ४ प्रतिशतको वृद्धिबाट थप २९ करोड यात्रु थपिएर २० वर्षभित्र ५० करोड १० लाख पुग्नेछन् ।

अफ्रिकामा भने वार्षिक ४ दशमलव ६ प्रतिशतको उल्लेख्य सुधार हुँदै थप १९ करोड ९० लाख यात्रु समेटिनेछन् र दुई दशकभित्र कूल ३३ करोड ४० लाख पुग्ने आएटाको प्रक्षेपणमा उल्लेख छ ।

तपाईंको बिचार