Saturday, June 24, 2017  |    

आइएसद्वारा फेरि अर्को प्राचीन मन्दिर ध्वस्त |

प्रकाशित मिति: 2015/09/01

काठमाडौं, भदौ १४ । सिरियाको प्राचीन सहर पल्माइरामा इस्लामिक अतिवादी समूह (आइएस)ले फेरि अर्को प्राचीन मन्दिर ध्वस्त पारेको छ । ठूलो विस्फोटका साथ मन्दिर ध्वस्त पारिएको स्थानीयले जनाएका छन् ।

यसअघि, गतहप्ता पनि आइएसले पल्माइरामै रहेको बाल्सेमिन मन्दिर ध्वस्त बनाउँदै आगामी दिनमा अरु विस्फोट पनि गर्ने भन्दै तस्वीर सार्वजनिक गरेको थियो । आइएसले गत मेमा पुरातात्विक सहर पल्माइरा नियन्त्रणमा लिएको थियो । आइएसले पछिल्लो समय प्राचीन धरोहरलार्ई निशानामा पार्दै आएको छ ।

यता, युनेस्कोले भने प्राचीन धरोहरमा आईएसको नियन्त्रण बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।

यसैबीच, मध्यपूर्वका त्यस्ता ऐतिहासिक धरोहरहरु अतिवादी निशानाबाट बचाउन बचाउन थ्री डी क्यामेरामार्फत् तस्वीरहरु संकलन गरिने भएको छ । अक्सफोर्ड र हार्बर्ड युनिभर्सिटीका पुरातत्वविद्को एक परियोजनाअन्तर्गत् मध्यपूर्वका हजारौं मानिससँग त्यस्ता ऐतिहासिक धरोहरका तस्वीर संकलन गरिनेछ ।

संकलित तस्वीरको सहायताबाट शोधकर्ताले थ्री डी प्रिन्टरमार्फत् क्षतिग्रस्त धरोहर र प्राचीन कलाकृतिको प्रतिकृति बनाउने छन् । यसका लागि पाँच हजार क्यामेरा बाँडिँदै छ । सन् २०१६ को अन्त्यसम्ममा त्यस्ता जोखिमयुक्त स्थानको दश लाख तस्वीर संकलन गरिने योजना रहेको छ । (एजेन्सी)

तपाईंको बिचार