Thursday, May 23, 2019

भूकम्पले तहसनहस सडक चार दिनमै निर्माण गरेपछि अमेरिकीहरु नै चकित

प्रकाशित मिति: 2018/12/07

एजेन्सी । गत शुक्रबार अमेरिकाको अलस्कामा गएको ७ रेक्टर स्केलको भूकम्पले विशेषगरी सहरका मुख्य सडकहरुलाई तहसनहस पारिदिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने सडक समेत नराम्रोसँत भत्किएपछि त्यहाँको अवस्थामा सुधार ल्याउन समय लाग्ने सबैको अनुमान थियो ।

तर अलस्काले अमेरिकीहरुलाई नै चकित पार्दै मंगलबार चार दिन अगावै सडक पहिलेको जस्तै बनाएर देखाइदिएको हो । यसरी भूकम्पपछि सबैतिर चर्किएको सडक र बीचका ठुल्ठुला प्वाल समेत एकाएक हराएका हुन् भने त्यसको ठाउँमा नयाँ चिल्लो सडक र भर्खरै पेन्ट गरिएका सेता लाइनहरु मात्र देखा परेका थिए । वास्तवमा भूकम्पमा भत्किएको सडक र अहिलेको पुनः निर्माणपछिको बाटोलाई तुलना गर्दै मंगलबार फेसबुकमा विभिन्न तस्बिर पोस्ट गरिएको थियो । यसैपछि यो खबर देशभर भाइरल हुन पुगेको हो भने अन्य ठाउँका वासिन्दाहरुले चाहिँ अहिले सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै ईष्र्या व्यक्त गरिरहेका छन् ।  

अमेरिकाका प्रमुख शहरमा बस्ने भएपनि आफ्ना क्षेत्रका खाल्डाखुल्डी पुर्न महिनौँ लाग्ने गरेको तर एकदम टाढा र अत्याधिक चिसो ठाउँमा भएर पनि अलस्काले यति छिटो काम गरेको भन्दै अमेरिकीहरुले आश्चर्य जनाएका हुन् । कतिले चाहिँ यसलाई फेक न्युज भन्दै त्यस किसिमले बिग्रिएको बाटो चार दिनमा बन्नै नसक्ने समेत ठहर गरेका थिए । तर त्यहाँका स्थानीयले प्रत्यक्ष तस्बिर खिचेर साबित गरेपछि भने सबैले अलस्काप्रति गर्व गरेका हुन् ।

यसबारेमा अलस्काको यातायात तथा सार्वजानिक सेवा विभागले पनि यो समयमा अलस्कामा सडक मर्मत गर्न ज्यादै कठिन हुने गरेको बताएको छ । तर अत्याधिक चिसो मौसमका बावजुद आफूहरुसँग भएका अनुभवी कामदारहरुले समयमै सबै काम सक्काएको विभागको भनाइ छ । यसरी त्यहाँ भूकम्पले प्रभावित २४३ पुलहरुबारे पनि निरीक्षण भइरहेको छ र ५० ठाउँका संरचनाहरुमा कति क्षति भएको भन्ने पूरा जानकारी पनि प्राप्त नभएको संचार माध्यम सिएनएनले जनाएको छ ।

त्यहाँको स्थानीय सरकारले शनिबार मात्र आपत्कालीन कोषमार्फत अस्थायी मर्मत र निर्माण कार्य छिटो भन्दा छिटो सुरु गर्न भन्दै ५० लाख डलर प्रदान गरेको थियो । तर यसमा अत्याधिक चिसो मौसम सबैभन्दा ठूलो बाधक बनिरहेको बताइएको छ ।

तपाईंको बिचार